कलाकारले अभिनयलाई प्रखर गर्दै लैजानु पर्ने करिश्माको जिकीर

काठमाडौं, ७ भदौ । कलाकारले अभिनयलाई प्रखर गर्दै लैजानु पर्ने अभिनेत्री करिश्मा मानन्धरले बताएकी छिन । नेपाली फिल्मकी सदाबहार अभिनेत्रीको रुपमा परिचित मानन्धर एक समय करिअरको उचाईमा थिइन् । उनका हरेक फिल्म सुपरहिट हुन्थे । उनको अनुहार पोस्टरमा राखे मात्रै पनि फिल्म सफल हुन्छ भन्ने मान्यता स्थापित थियो । तर, उनले आफ्नो करिअरमा अभिनयभन्दा सुन्दरताको प्रशंसा बढी कमाइन् । यसैले पनि उनी सुन्दरताकै कारण फिल्ममा टिकेको भन्नेहरु धेरै छ ।
तर, सुन्दरताकै कारण आफू फिल्ममा टिकेको मान्न तयार छैनन्, करिश्मा । शुक्रवार ‘अमिरा ब्युटी केयर’ को उद्घाटनमा उनले भनिन्, ‘मैले फिल्म क्षेत्रमा निकै लामो यात्रा गरेँ, यो सौभाग्य कमैले पाउँछन् । म त्यो भाग्यमानी कलाकार हुँ । अनि, मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ र ?’ सुन्दरताले आफ्नो अभिनयलाई छायाँमा नपारेको पनि उनको भनाई छ ।
यद्यपि, उनी आफ्नो अभिनयलाई औसत मान्छिन् । ‘मेरो अभिनय क्षमता औसत नै हो । तर, ‘बसन्ती र शुभकामना’ मा मलाई आफ्नो काम मन परेको थियो । यी फिल्ममा मेरो अभिनय हेर्ने हो भने अवार्ड पाउनु पर्थ्यो जस्तो लाग्छ । तर, यो क्षेत्रमा के हुन्छ भने राम्रो काम गरेको छ भने तारिफ नमिल्न पनि सक्छ । त्यसमा सबै तालमेल नमिलेर त्यस्तो भएको हुनसक्छ,’ उनी सुनिइन् ।
उनी आफू सुन्दरताको व्यापारमा रहेको पनि धक नमानी बताउँछिन् । करिश्मा अगाडि भन्छिन्, ‘मलाई अभिनय नै गर्न नपाउँदा पनि ऊ सुन्दरी भएर फिल्ममा लिएको भनेर अहिले कतिपय पुराना निर्देशकहरुले भन्ने गर्नुहुन्छ । कतिले आक्षेप पनि लगाउनुहुन्छ कि सुन्दरताकै कारण टिक्यो । तर, सुन्दरता भन्ने कुरा सधैं कायम रहँदैन ।
यसैगरी, कोभिड–१९ का कारण फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष लकडाउन सुरु हुनभन्दा अगावैदेखि बन्द भएको यो क्षेत्र ९ महिनापछि खुल्यो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि फिल्म निर्माण, प्रदर्शन र वितरणमा सरकारले रोक लगाएको छ । निषेधाज्ञा खुकुलो भएर अन्य क्षेत्र खुलिसक्दा पनि फिल्म क्षेत्रका गतिविधि खुुलाउने विषयमा सरकारले कुनै चासो दिएको छैन ।

यतिबेला फिल्मकर्मीदेखि दर्शकसम्मको चासो फिल्म क्षेत्र कहिले खुल्छ भन्नेमा छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यही भदौ १ गतेदेखि लागू गरेको स्मार्ट लकडाउनको कार्यविधिमा कोरोना संक्रमण दर १५ प्रतिशतभन्दा तल झरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै सिनेमा हल, फन पार्क, मेला लगायतका मनोरञ्जन क्षेत्र खोल्न सकिने योजना समावेश गरेको छ ।
संक्रमणको अवस्था हेरेर मुलुकलाई रेड, एम्बर, येल्लो र ग्रीन जोनमा विभाजन गर्ने र हाल २४ प्रतिशतमा रहेको संक्रमण दर १५ प्रतिशतमा झरेपछि मनोरञ्जन क्षेत्र खुलाउन सकिने सीसीएमसीको कार्यविधिमा उल्लेख छ । रेड, एम्बर र येल्लो जोनमा मनोरञ्जन क्षेत्रका गतिविधि भर्चुअलको माध्यमबाट मात्र गर्न दिइनेछ भने हरियो जोनमा पुगेपछि फिल्म क्षेत्रले सञ्चालनको अनुमति पाउनेछ ।
सरकारले भौतिक रुपमा फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न अनुमति नदिए पनि भित्रभित्रै फिल्म निर्माणको काम भने भइरहेको छ । साउन अन्तिममा फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकियो । बुधवार (हिजो) अर्को फिल्म ‘आँधी तुफान २’ ले पनि छायांकन पूरा गरेको छ । त्यस्तै, शनिवारबाट निर्देशक शोभित बस्नेतले ‘डाँडाको बरपीपल’ फिल्मको छायांकन सुरु गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *