फिल्म ‘म राजेश हमाल’ भदौ २० गते धनगडीबाट सुटिङ सुरु हुँदै


काठमाडौं, ५ भदौ । फिल्म ‘म राजेश हमाल’ भदौ २० गते धनगडीबाट सुटिङ सुरु हुँदैछ । सुपरस्टार राजेश हमालको नाममा निर्माण हुन लागेको फिल्म ‘म राजेश हमाल’ मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण टिमले मंगलवार उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा उनको केमियो भूमिका हुनेछ । आर्यनले राजेश हमालको सम्मानका लागि फिल्ममा काम गर्न लागेको बताइएको छ । उनले हमालसँग फिल्म ‘मौसम र सपना’ मा सँगै काम गरेका थिए ।
निर्माता केदार भुषालले फिल्ममा केमियो भूमिकाका लागि राजेश हमाललाई पनि अफर गरेका छन् । तर, अहिलेसम्म उनले फिल्ममा अभिनय गर्ने वा नगर्ने विषयमा कुनै निर्णय दिएका छैनन् । उनले फिल्मको नामको विषयमा पनि आफ्नो निधो दिन बाँकी छ । तथापी, राजेश हमालसँग फिल्ममा नाम प्रयोग गर्ने विषयमा मौखिक सहमति भइरहेको निर्माता भुषालले जानकारी दिए ।
विक्रम लामाले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको अभिनय रहनेछ । राजेश हमालको नाममा ‘म राजेश हमाल’ बन्न लागे पनि उनको जीवनीमा फिल्म आधारित हुने छैन । निर्माण टिमले उनको सम्मानका लागि फिल्म बनाउन लागेको हो । भदौ २० गते धनगडीबाट फिल्मको सुटिङ सुरु हुँदैछ ।
राजेश हमालको नाममाथि यसअघि पनि एक फिल्म निर्माण भएको थियो । सन् २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । यसमा उनी आफैं मुख्य भूमिकामा थिए भने उनको भाईको भूमिका उनका डेब्लिकेटको रुपमा चिनिने शित्तल केसीले अभिनय गरेका थिए । तर, फिल्म असफल भयो । एकपटक फेरि उनको नाममा फिल्म बनाउने जोखिम उठाउन लागिएको छ ।
यसैगरी, कोभिड–१९ का कारण फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष लकडाउन सुरु हुनभन्दा अगावैदेखि बन्द भएको यो क्षेत्र ९ महिनापछि खुल्यो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि फिल्म निर्माण, प्रदर्शन र वितरणमा सरकारले रोक लगाएको छ । निषेधाज्ञा खुकुलो भएर अन्य क्षेत्र खुलिसक्दा पनि फिल्म क्षेत्रका गतिविधि खुुलाउने विषयमा सरकारले कुनै चासो दिएको छैन ।
यतिबेला फिल्मकर्मीदेखि दर्शकसम्मको चासो फिल्म क्षेत्र कहिले खुल्छ भन्नेमा छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यही भदौ १ गतेदेखि लागू गरेको स्मार्ट लकडाउनको कार्यविधिमा कोरोना संक्रमण दर १५ प्रतिशतभन्दा तल झरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै सिनेमा हल, फन पार्क, मेला लगायतका मनोरञ्जन क्षेत्र खोल्न सकिने योजना समावेश गरेको छ ।
संक्रमणको अवस्था हेरेर मुलुकलाई रेड, एम्बर, येल्लो र ग्रीन जोनमा विभाजन गर्ने र हाल २४ प्रतिशतमा रहेको संक्रमण दर १५ प्रतिशतमा झरेपछि मनोरञ्जन क्षेत्र खुलाउन सकिने सीसीएमसीको कार्यविधिमा उल्लेख छ । रेड, एम्बर र येल्लो जोनमा मनोरञ्जन क्षेत्रका गतिविधि भर्चुअलको माध्यमबाट मात्र गर्न दिइनेछ भने हरियो जोनमा पुगेपछि फिल्म क्षेत्रले सञ्चालनको अनुमति पाउनेछ ।
सरकारले भौतिक रुपमा फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न अनुमति नदिए पनि भित्रभित्रै फिल्म निर्माणको काम भने भइरहेको छ । साउन अन्तिममा फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकियो । बुधवार (हिजो) अर्को फिल्म ‘आँधी तुफान २’ ले पनि छायांकन पूरा गरेको छ । त्यस्तै, शनिवारबाट निर्देशक शोभित बस्नेतले ‘डाँडाको बरपीपल’ फिल्मको छायांकन सुरु गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *