अन्तर्राष्ट्रिय खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जादै

काठमाडौं, २ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय खेलको लागि अगष्ट अन्तिममा ओमान भ्रमणमा निस्कँदैछ । सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग(सिपिएल) गुमाउने भएका छन् ।सन्दीप सिपिएल २०२१ मा ट्रीनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए । सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले गुमाउने पक्का भएको हो । सिपिएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म चल्ने छ । नेपाली टोली अगष्ट अन्तिममानै ओमान भ्रमणमा निस्कँदैछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ ।
त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर पाँच र आठमा दुई ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्ने छ । जसको कारण सन्दीपले सिपिएल गुमाउने निश्चित भएको हो । ट्रीनबेगो र सिपिएलले औपचारिक रुपमा फुकुवा भने गर्न बाँकी छ ।
यस सिजनको लागि सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको थियो। गतवर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गतवर्ष ९० हजार अमेरिकी डलर अर्थात एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।
सन्दीपले २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो ।
पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।
सन्दीपका लागि यो वर्ष खराब पनि सावित भएको छ । केहि महिना अघि भिसाको कारण टि२० ब्लास्ट र द हन्ड्रेड गुमाउनु परेको थियो । द हन्ड्रेड खेल्न इंग्ल्यान्ड पुगेर पनि फर्किनु परेको थियो । त्यस्तै आइपिएल २०२१ मा कुनैपनि टोलीले मूल्य पनि लगाएनन् ।
यसैगरी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । टि२० विश्वकपको उद्धघाटनमा ओमान र पपुवा न्युगिनीबाची अक्टोबर १७ मा हुने छ ।पहिलो चरणका समूह बी का सबै खेल ओमानमा हुने भएका छन् । पहिलो चरणका समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुने छ । सुपर १२ का खेलहरु २३ अक्टोबरबाट दुबई, आबूधाबी र शारजाहमा सुरु हुने छन् । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।
सुपर १२ को ग्रुप एक मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ ।
सुपर १२ को पहिलो खेलमा समूह ए का अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । समूह चरणको अन्तिम खेल समूह बी को भारत र पहिलो चरणबाट आउने समूह ए को उप विजेताबीच दुबईमा हुने छ । अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेमिफाइन नोभेम्बर १० मा हुने छ । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उप विजेताबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनल ११ नोभेम्बरमा समूह बी को विजेता र समूह ए को उप विजेताबीच प्रतिस्पर्धा हुने छ । पहिलो सेमिफाइनल आबूधाबी र दोस्रो सेमिफाइनल दुबैमा हुने छ । दुबै सेमिफाइनलको रिजरर्भ डे (वैकल्पिक दिन) राखिएको छ । फाइनल दुबईमा १४ नोभेम्बरमा हुने छ । फाइनलको पनि रिजरर्भ डे राखिएको छ ।
विश्वकपको पहिलो दिन ओमान र पिएनजी भिड्ने छन् । पिएनजीले टि२० विश्वकपमा डेब्यू गर्ने छ । त्यसैदिन अर्को खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने छ । समूह ए का आयरल्यान्ड र नेदरल्यान्डबीच पहिलो खेल अक्टोबर १८ मा आबूधाबीमा हुने छ । त्यसैदिन नामिबियाले श्रीलंकासँग खेल्ने छ । नामिबियाले पनि पहिलो पटक टि२० विश्वकप खेल्दै छ ।
पहिलो चरणका समूह बी का अन्तिम खेल अक्टोबर २१ मा हुने छ । बंगलादेशले पिएनजी र ओमानले स्कटल्यान्डसँग अन्तिम समूह चरणको खेल खेल्ने छ । समूह ए को अन्तिम खेल अक्टोबर २२ मा शारजाहमा हुने छन् । नामिबियाले आयरल्यान्ड र श्रीलंकाले नेदरल्यान्ड्ससँग पहिलो चरणको अन्तिम खेल खेल्ने छन् । दुबै समूहबाट शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्ने छन् । अक्टोबर २३ मै समूह एका उपाधिका दाबेदार इंग्ल्यान्ड र वेस्टइन्डिजबीच पहिलो खेल हुने छ । सुपर १२ बाट दुबै समूहबाट शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *