‘दर्पण छायाँ २’ कि अभिनेत्री सहारा कार्कीलाई पहिलो गाँसमै ढुंगा


काठमाडौं, २ भदौ । ‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सहारा कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । हिट फिल्मको सिक्वेलमा काम गरेपछि कलाकारलाई के विश्वास हुन्छ भने सफलता पक्का हो । तर, सबै हिट फिल्मको सिक्वेल हिट नै हुन्छ भन्ने ग्यारेन्टी हुन्न । ‘दर्पण छायाँ’ को सिक्वेल यसको उदाहरण हो । २ दशक अगाडिको ब्लकबस्टर फिल्मको नाम सापटी लिएर निर्देशक तुलसी घिमिरेले ’पार्ट टू’ बनाए । तर, फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाएन ।
‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैगर्दा सहारा कार्कीलाई सफलता आफ्नै पोल्टामा हो भन्ने लागेको थियो । अभिनेत्री निरुता सिंहझैँ आफू पनि दर्शकको मनमा बस्न सफल हुनेमा उनी विश्वस्त थिइन् । तर, नतिजा उनले सोचेभन्दा विपरित आयो । उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । उनको अभिनय दर्शक र समीक्षकले रुचाए पनि फिल्मको असफलताले त्यसलाई छोप्यो ।
अभिनेत्री बन्न अमेरिकाबाट नेपाल आएकी उनी पहिलो फिल्म असफल भएपछि पुनः अमेरिका फर्किइन् । त्यसपछि उनले नेपाल फर्किएर नयाँ फिल्ममा काम गरेकी छैनन् । जसले गर्दा ‘दर्पण छायाँ २’ नै उनको पहिलो र अन्तिम फिल्म त होइन भन्ने आशङ्का स्वभावतः जन्मिएको छ । गत ९ महिनाअघि अमेरिकामा खिचिएको एक म्यूजिक भिडियोमा दर्शकले उनलाई देख्न पाएका थिए ।
उनै, सहारा कार्की मंगलवार आफ्नो जन्मदिन मनाईन । परिवारसहित अमेरिकामा बस्दै आएकी उनलाई उनका प्रेमी फिरोज तिमल्सिनाले विशेष रुपमा ‘बर्थडे विस’ गरेका छन् । ‘यो एक सुरुवात हो, जन्मदिनको शुभकामना मेरो प्रेम’, उनले सहारासँगको एक रोमान्टिक तस्विर पोस्ट गर्दै फेसबुकमा लेखेका छन् । यो जोडीले फिल्म ‘दर्पण छायाँ २’ मा एकसाथ काम गरेको थियो ।
यसैगरी, नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । गत हप्ता अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भएसँगै निर्माण टिमले अरु कलाकारसँग पनि कागजी सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । यसैक्रममा, सोमवार अर्का अभिनेता राज कटुवाल फिल्ममा आधिकारिक रुपमा भित्रिएका छन् ।

निर्देशक मुकुन्द भट्ट र राजबीच गत वर्ष नै मौखिक सहमति भइसकेको थियो । तर, कोरोना महामारीका कारण कागजी सम्झौता हुन सकेको थिएन । फिल्ममा राजको महत्त्वपूर्ण भूमिका रहने निर्देशक भट्टले बताए । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीसँग नाम जोडिएपछि चर्चामा रहेका अभिनेता कटुवालले फिल्म ‘लाल्टिन र लीला’ सँगै केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । अब अभिनेता द्वय पुष्प खड्का र अनुपविक्रम शाहीसँग कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । दुवैसँग मौखिक सहमति भने भइसकेको छ ।
नेपाल, यूरोप, आबुधाबीमा छायांकन हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । ठूलो लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्न पहल गरिने निर्देशक भट्टले बताएका छन् । फिल्ममा भिलेनको भूमिकाको अफर बलिउड अभिनेता सोनू सूदलाई गर्ने तयारीमा निर्माण टिम छ । जसका लागि निर्देशकसहितको टोली चाँडै भारत प्रस्थान गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *