भदौं २० गते नेपालले पपुवा न्युगिनीसँग ओडिआई खेल्ने


काठमाडौं, ३२ साउन । नेपालले पपुवा न्युगिनीसँग पहिलो ओडिआई भदौं २० र दोस्रो ओडिआई भदौं २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सोमबार नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ । नेपाल उक्त सिरिज भन्दा १५ दिन अगाडिनै ओमान पुग्ने छ ।
ओमानले नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बर देखि २० सम्म आयोजना गर्ने छ । त्यस लगत्तै ओमानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म खेल्ने छ । उक्त सिरिज खेल्ने ओमान पुगेको पिएनजीसँग नेपालले दुई खेलको सिरिज खेल्न थालेको हो ।
त्रिकोणात्मक सिरिज लगत्तै सेप्टेम्बर २५ देखि एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु हुने कार्यक्रम छ । ओमानले रणजी ट्रफी खेल्ने मुम्बईको टोलीसँग समान तीन टि२० आई र एकदिवसिय सिरिज खेल्ने छ । मुम्बईको टोली २० अगष्टमा ओमान पुगि सक्ने छ ।
टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने छ । ओमानले पहिलो चरणका केहि खेलहरु आयोजना गर्ने छ । ओमान समूह बी मा छ । ओमानसँगै, बंगलादेश, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पिएनजी र स्कटल्यान्डपनि विश्वकप तयारीमा हुने छन् ।
नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग–२ मा डेब्यू गरेको थियो । कोरोना कारण ओमानले त्यसपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टि२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।
नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
विश्वकप लिग २ अंक तालिका
ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
यसैगरी, चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ ।
कोरोना महामारीको कारण खेलाडीहरुको आर्थिक चुनौतिलाई ध्यानमा राख्दै २० प्रतिशतले तलब बढाएको इपिएलले जनाएको छ । इपिएलको अन्तिम संस्करण २०१८ मा भएको थियो । इपिएल अक्सन २०१७ मा भएको थियो । इपिएलको नियम अनुसार एक पटक अक्सन भएपछि तीन वर्ष त्यहिँ आधारमा चल्ने छ । सिजन सुरु हुनुअघि खेलाडी रिलिज र रिटेन (फुकुवा र अनुबन्ध) साथै किनबेच भने गर्न पाइन्छ । अक्सनको चार वर्षपछि आयोजकले २० प्रतिशत तलब बढाएका हो । २०१७ को अक्सनमा न्युनतम मूल्य ५० हजार देखि खेलाडी अधिक्तम १ लाख ७५ हजार रुपैयाँ सम्म पाएका थिए ।
चौथो संस्करण २०१९ मा हुनुपर्ने थियो । तर नेपाली क्रिकेटको ब्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका कारण हुन सकेन । त्यसपछि लगातार स्थगित हुँदै आएको थियो । गतवर्ष चैतमा गर्ने तयारी गरेपनि कोरोना महामारीको कारण अन्तिम समयमा स्थगित भएको थियो । यस पटक भने आयोजकले समयमै आयोजना गर्ने गरि तयारी अघि बढाएको छ ।
फ्रेन्चाइज टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्न थालेका छन् । काठमाडौं किंग्स ११ ले पाकिस्तानका स्टार पूर्वअलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरि सकेको छ । भैरहवा ग्ल्याडियटर्सले श्रीलंका विकेटकिपर दीनेश चान्डिमल, चितवनले पाकिस्तानका डानिस अजिजको नाम सार्वजनिक गरि सकेको छ ।
प्रतियोगिताम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज गरि ६ सहरका ६ फ्रेन्चाइज टोली छन् । पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *