फिल्म ‘लाइफ इन एलए’ को २९ दिनमा छायांकन सकियो


काठमाडौं, ३२ साउन । फिल्म ‘लाइफ इन एलए’ को छायांकन २९ दिनमा सकिएको छ ।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘लाइफ इन एलए’ को सुटिङ प्याकअप भएको हो । आइतवार पोखरामा फिल्मको अन्तिम दृश्य कैद गरिएको हो । २९ दिन (१९ दिन अमेरिकामा र १० दिन नेपालमा) छायांकन भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । सम्पूर्ण छायांकन सकेर निर्माण टिम राजधानी फर्किसकेको छ ।
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, व्यास बिस्सु, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतम लगायतको अभिनय छ । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् । फिल्मलाई आउँदो दशैंको छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु भइसकेको छ ।
एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ÷क्रिस वारेनको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यो फिल्मबाट अकेशा ६ वर्षपछि अभिनयमा फर्किएकी छन् । म्यूजिक भिडियोमा काम गरिरहँदा फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । फिल्मको छायांकनका लागि उनी गत हप्ता नेपाल आएकी थिइन् ।
कोरोना महामारीका कारण सरकारले छायांकन अनुमति नदिए पनि निषेधाज्ञा खुकुलो भएसँँगै एकपछि अर्को फिल्म सुटिङमा निस्किरहेका छन् । छायांकनरत फिल्मलाई प्रहरी प्रशासनले रोकथोक पनि गरेको छैन । भदौबाट अरु केही फिल्मको पनि छायांकन सुरु हुँदैछ । कोरोनाको दोस्रो लहर फैलिएको भन्दै निषेधाज्ञा जारी भएपछि केही फिल्म छायांकनमै रोकिएका थिए ।
यसैगरी, नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अतिथी भूमिकामा राजेश हमाललाई पनि देखाउने तयारीमा निर्माण टिम छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । उनले निर्मातासँग बिहीवारसम्मको समय मागेका छन् ।
फिल्मको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिनेछन् । मौखिक रुपमा नाम प्रयोग गर्ने सहमति भए पनि कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले बताए । विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।
निर्माता भुषालले फिल्म राजेश हमालको जीवनीमा आधारित नहुने बताए । उनले भने– ‘उहाँको नाम लिएर फिल्म बनाउन लागेका हौं । क्यारेक्टरको मोटिभ पनि उहाँसँग नै मिल्छ । तर, उहाँको जीवनी नै बनाउन लागेका चाहिँ होइनौं ।’ आउँदो भदौ २० गते धनगडीबाट छायांकन सुरु हुन लागेको फिल्ममा अतिथी भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ ।
राजेश हमालको नाममा पहिलो पटक फिल्म बन्न लागेको भने होइन । यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । यसमा उनी स्वयं मुख्य भूमिकामा थिए । पछिल्लो रिलिज फिल्म ‘बागमती र शकुन्तला’ को असफलतापछि अभिनयबाट निस्क्रिय देखिएका उनले गत वर्ष फिल्म ‘सत्यम्’ साइन गरेका थिए । तर, कोरोनाले गर्दा यो फिल्म छायांकनमा निस्कन सकेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *