आइपिएल र टि२० को कारण नेपालले यू१९ विश्वकप खेल्न नपाउने


काठमाडौं, २८ साउन । आइपिएल २०२१ र टि२० विश्वकपको कारण नेपालले यू१९ विश्वकप खेल्न नपाउने सम्भावना बढेको छ । आगमी सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोटको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने निश्चित जस्तै भएको हो । यू१९ एसिया छनोट नहुने भएको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निश्चित नियम र मापदण्ड बनाउँदै पछिल्लो पाँच विश्वकप छनोटको आधारमा आगमी वर्ष हुने विश्वकपको लागि एसियाबाट टोली निर्धारण गर्ने व्यहोरासहितको सूचना एक महिना अघिनै सदस्य राष्ट्रलाई पठाएको थियो । एसिया कप छनोट नहुने संकेत देखेपछि आइसिसीले पछिल्ला पाँच यू१९ विश्वकप छनोटको प्रदर्शन हेर्ने जनाएको छ ।
आयोजना हुने भनिएको एसिया छनोटमा नेपाल, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान थिए । कोरोना महामारीसँगै उक्त समयमा आइपिएल भएको हुँदा प्रतियोगता हुने सम्भावना पनि छैन । यसकारण पनि प्रतियोगिताका लागि कुनैपनि टोलीले तयारी पनि थालेका थिएनन् ।
यू१९ विश्वकप एसिया छनोट नहुने नै भनेर आइसिसीले औपचारिक रुपमा हालसम्म कुनै जानकारी भने दिएको छैन । तर पछिल्ला केहि सूचनालाई आधार मान्ने हो भने छनोट हुने सम्भावना नभएपछि पछिल्ला पाँच विश्वकप छनोटको आधार मानेर एक टोलीलाई विश्वकप खेल्न दिने प्रस्ताव नै अघि बढ्ने देखिन्छ ।
आइसीसीको यस प्रस्तावलाई क्यानले भने असन्तुष्टि जनाउँदै इमेल पठाएको क्यान स्रोतले हाम्रो खेलकुदलाई जानकारी दियो । ‘आइसिसीले पछिल्ला पाँच विश्वकप छनोटको आधार मानेर स्वतः छनोट गर्ने प्रस्ताव राखेको छ । त्यसमा पनि च्याम्पियनसिप जसले बढी जितेको छ त्यसले खेल्न पाउने जनाएको छ । आइसिसीले एसिया कप र एसिसी ट्रफीको प्रदर्शनलाई आधार नमान्दा नेपालले विश्वकप गुमाउने अवस्था आएको हो’, स्रोतले भन्यो ।
‘पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई दुई पटक विश्वकप सहभागिता जनाएका छन् । यो अवस्थामा च्याम्पियनसिप कसले बढी जित्यो भन्ने छ । नेपाल २०१३ छनोटमा युएईसँग सेमिफाइनलमा पराजित भएको थियो । अन्तिम पटक नेपाललाई एक रनले हराउँदै यूएई च्याम्पियन बनेको थियो । जसले गर्दा यूएई विश्वकपमा पुग्ने बलियो आधार बनेको छ’, स्रोतले भन्यो । युएईसँग खेलेका कुल १० खेलमा नेपालले ८ खेलमा जित्दा २ खेलमा पराजित भएको छ । तर २ हार भने महत्त्वपूर्ण मोडमा रहेका थिए ।
अहिलेको अवस्थामा क्यान पनि आइसिसीको निर्णय पर्खेर बसेको छ । प्रतियोगिता हुन नसकेर आइसीसीकै प्रस्ताव अघि बढेको अवस्थामा नेपालले यू–१९ विश्वकप खेल्न पाउने छैन । छनोट अन्तर्गत नेपाल सधैं अफगानिस्तानसँग पराजित हुँदै उप विजेतामा सिमित रह्यो । अफगानिस्तान सिधै छनोट भएपछि पाएको अवसरमा नेपाल यूएईसँग १ रनले पछि पर्दै दोस्रो हुनु दुर्भाग्य रह्यो । नेपालले प्रतियोगिता नहुँदा आफूहरुलाई ठूलो घाटा लाग्ने हुँदा एसिया छनोट गराउन आइसिसी र सबै सहभागी एसोसियट टोलीहरु र एसिसीलाई मेल कहि साता अघिनै पठाएको थियो ।
२०१९ मा मलेसियामा भएको यू१९ विश्वकप एसिया छनोटमा यूएई ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाको कारण डकवर्थ लेबिस पद्धतिको आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो । उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्ने देखिएको छ ।
२०१७ को एसिया कप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । उक्त छनोटमा यूएईले सहभागितानै जनाएको थिएन । २०१४ को यू१९ विश्वकपको लागि मलेसियामा भएको यू१९ इलिट कपको सेमिफाइनलमा नेपाल यूएईसँग ७६ रनले पराजित भएको थियो । फाइनलमा अफगानिस्तानसँग युएई १० विकेटले पराजित भएको थियो । तर विश्वकप आयोजकको रुपमा यूएईले पहिलो पटक यू१९ विश्वकप खेलेको थियो ।नेपाल २०१२ मा १३ औं र २०१६ को यू१९ विश्वकपमा आठौं स्थानमा रहँदै बाहिरिएको थियो । २०१४ मा यूएईले घरेलु मैदानमा आयोजना गरेको हुँदा स्वतः छनोट भएको थियो । २०२० को विश्वकप नेपाललाई पछि पार्दै खेलेको थियो । यूएईले दुई पटक मात्र यू१९ विश्वकपमा सहभागिता जनाउँदा नेपालले ७ पटक खेलेको छ ।
नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन । पुरै यू१९ विश्वकप इतिहास, एसिया कप, एसिया छनोट र नेपाली क्रिकेटको क्रेजलाई देखेर प्रतियोगिता गराउन सक्छ कि भनेर झिनो आशामा क्यान छ । २०२२ मा नेपालको यू१९ विश्वकप खेल्ने उच्च सम्भावना थियो ।
पछिल्लो समय घरेलु क्रिकेटमा देखिएका नयाँ अनुहारनै झनै उत्साह, खुसी र सम्भावना देखाएका थिए । तर छनोटनै नहुने अवस्थाम पुगेपछि पुन निराशा छाएको छ । क्यान भदौ अन्तिम वा असोजमा यू१९ राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *