फिल्म ‘लभ सर्कल’ साउन २९ गते डिस होमको च्यानलमा प्रदर्शन हुँदै

काठमाडौं, २८ साउन । फिल्म ‘लभ सर्कल’साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शन हुँदैछ । कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओ मैयाँ’ बोलको सार्वजनिक गीतमा अंकित बाबु अधिकारी र विद्या तिवारीको संयुक्त आवाज रहेको छ । गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मका कलाकारहरु मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत फिचर छन् ।
गीतले मुकुन र पवित्रा, नाजिर र रिस्ताबीचको प्रेमभाव व्यक्त गर्छ । उनीहरुको एक–अर्कासँगको मित्रतालाई पनि गीतमार्फत् देखाउन खोजिएको छ । कोरोनाका कारण सिनेमा हल बन्द भएकाले डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको फिल्मको गएको हप्ता ट्रेलर सार्वजनिक भएको थियो ।
बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्ममा रबिन्द्र झा, सुमन कोइराला (दले दाई) को पनि मुख्य भूमिका रहेको छ । मि टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको फिल्ममा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान÷मिलन श्रेष्ठको सम्पादन छ ।
यसैगरी, कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले भने राजधानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए ।
आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरुप तीव्र गतिमा काम भइरहेको उनले बताए । दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ फिल्म हेर्न सक्नेछन् । यो सिनेमा हलमा दीपक–दीपाश्रीसँगै ‘छक्का पञ्जा’ समुहमा आबद्ध रहेका व्यक्तिहरुको लगानी रहनेछ । यो समुह धेरै अगाडिदेखि ‘छक्का पञ्जा’ नाममा स्तरीय मल्टीप्लेक्स हल खोल्ने तयारीमा थियो ।
फिल्मबाट कमाएको पैसा फिल्म क्षेत्रमै लगानी गर्ने उद्देश्यले सिनेमा हल खोल्न लागेको र आफूहरुले सिनेमा हल बनाउँदा फिल्मकर्मीलाई पनि सहज हुने उनको विश्वास छ । त्यस्तै, दीपाश्री निरौलाले धमाधम सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने बताइन् । आउँदो चैतभित्र हललाई सञ्चालनमा ल्याउने तयारीमा ‘छक्का पञ्जा’ समुह छ ।
यो समुह पहिला मोफसलमा हल खोल्ने तयारीमा थियो । तर, कोरोना महामारीपछि तत्काल मोफसलमा लगानी गर्नु जोखिम हुने ठानेर उनीहरुले राजधानी रोजेका हुन् । नेपालका हलवाला र वितरकले नेपाली फिल्मभन्दा विदेशी फिल्मलाई प्राथमिकता दिने गरेको आरोप लगाउँदै आएका दीपक–दीपाले आफ्नो हलमा भने नेपाली फिल्मलाई कति महत्त्व दिनेछन्, त्यो हेर्न बाँकी नै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *