आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय गर्ने, विशेष महाधिवेशनको माग

काठमाडौँ, २८ साउन । आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय गर्ने भएको छ । १४ औं महाधिवेशन केन्द्रित बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना रहेको छ ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ । स्रोतकाअनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन ।
यसैगरी, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताएका छन । नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताए । अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उनले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्छ भने । क्रियाशील सदस्यताको विवाद मिलाएर महाधिवेशनमा जानुपर्ने भन्दै उनले सहमतिका लागि भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताए । कांग्रेसको वैधानिकताको विषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम बढेको हुँदा अहिलेको अवस्थामा पार्टीको शीर्ष तहले विशेष अधिवेशनको विकल्पबारे सोच्नुपर्ने उनको भनाइ थियो ।
यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताएका छन । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन बुधबार उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन । उनले सरकारले कोरोनाविरुद्धको खोप सँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताए । उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । नाराले होइन कामले गरेर देखाउनुपर्छ । जिम्मेवार पदमा बसेकाले पहिला सुरुआत गर्नुपर्छ ।” उनले जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, “जनप्रतिनिधिले जनतालाई विश्वासघात गर्नुहुन्न । जनता नै सर्वोपरि हो भन्ने ध्यान दिनुपर्छ ।”
उनले जनप्रतिनिधि साझा व्यक्तित्व भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिए । “जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिह्न लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिका रुपमा अघि बढ्नुपर्छ । दलगत स्वार्थले काम गर्नुहुन्न”, उनले भने । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिए पनि नगरको सडक, ढल, सरसफाइ र व्यवस्थित बसोबासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *