कमेडी र लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा जितुको जोडी साम्राज्ञी


काठमाडौं, २६ साउन । कमेडी र लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा हास्य कलाकार जितु नेपालको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिने भएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहबाट बाहिरिएपछि हास्य कलाकार जितु नेपालले नयाँ फिल्म साइन गरेका छन् । फिल्म ‘ड्रिम्स’ का निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । नाम गोप्य राखिएको फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिनेछ । साम्राज्ञीले यसै हप्ता फिल्म साइन गरेकी हुन् । आउँदो भदौ १५ गतेबाट छायांकन सुरु हुने फिल्म कमेडी र लभस्टोरी जनरामा निर्माण हुने बताइएको छ । काठमाडौं र पोखराको माथिल्लो भेगमा छायांकन हुने फिल्ममा कलाकार विजय बरालको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा उनले जितुको साथीको भूमिका निर्वाह गर्नेछन् । लामो समयदेखि लन्डनमा बस्दै आएका कपिलले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
उनले लन्डनमा नै केही सर्ट फिल्मको निर्माण तथा निर्देशन गरेका छन् । करीब एक दर्जन म्यूजिक भिडियोको समेत निर्देशन गरिसकेका उनी पेशाले दन्त चिकित्सक हुन् । फिल्म निर्माता तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा रहेका कपिल नेपाल आएपछि फिल्मको घोषणा गरेर छायांकनमा निस्कने तयारीमा छन् । पर्दामा जितु र साम्राज्ञीको जोडी हेर्न रोचक हुने देखिन्छ ।
निषेधाज्ञाभन्दा अगाडि फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकेकी साम्राज्ञीले लकडाउनअघि निर्देशक द्वय मिलन चाम्स र प्रवेश पौडेलको फिल्म साइन गरेकी थिइन् । उनको पाइपलाइनमा निर्देशक हेमराज विसीको फिल्म पनि छ । तर, उनले यी फिल्मभन्दा अगाडि कपिल रिजालको फिल्ममा काम गर्ने भएकी छन् । यो फिल्मका लागि उनले माटो पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।
यसैगरी, नेपाल सरकारले फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । निर्माता श्रीदेव विएलको पहलमा आइतवार पाटन ढोकास्थित पुरानो अशोक सिनेमा हलको परिसरमा फिल्मकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको हो । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो चार बजेसम्म चल्ने नेपाल चलचित्र कलाकार संघले जानकारी दिएको छ ।
बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म फिल्म निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघ संस्थामा आबद्ध रहेका फिल्मकर्मीलाई खोप लगाइने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।
कलाकार संघले निकालेको तालिका अनुसार नै फिल्मकर्मीहरु कोरोनाविरुद्धको खोप लगाउन पुगिरहेका छन् । बिहान ९ देखि १० बजेसम्म भुवन केसी, पल शाह, पुष्प खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दुर्गेश थापा लगायतले खोप लगाएका थिए । सरकारले फिल्मकर्मीलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको संघका अध्यक्ष खड्काको भनाई छ ।
खोप कार्यक्रममा बोल्दै उनले भने– ‘सर्वसाधारण जसरी सार्वजनिक ठाउँमा कलाकारहरुलाई खोप लगाउन निकै अप्ठ्यारो हुन्छ । यसैले कलाकार संघले सरकारका मन्त्रीदेखि विभिन्न सरोकारवाला निकायसँग फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका थियौं । कोरोनाविरुद्धको खोप लगाएपछि फिल्म क्षेत्र पुरानो लयमा फर्किनेमा कलाकार संघ विश्वस्त छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *