साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोली प्रशिक्षणमा


काठमाडौं, २५साउन । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा केहि परिवर्तन गर्दै पोखरामा प्रशिक्षण गर्ने भएको छ । काठमाडौंमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो ।
यसबीचमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका थिए । तर पोखरामा हुने प्रशिक्षणमा भने गोलरक्षक विशाल सुनार, मिडफिल्डर सेसेहाङ आङदेम्बे र विंगर शिशिर लेखिलाई पुनः टोलीमा समावेश गरिएको छ ।
एरिक विष्ट र प्रकाश बुढाथोकीले भने पोखराको प्रशिक्षण क्याम्पमा सहभागि नहुने एन्फाले जनाएको छ । यसअघि टोलीको नामावलीमा नरहेका विक्रम लामालाई पनि छनोटमा समावेश गरिएको छ । उनी कतारमा शल्यक्रिया गराएर नेपाल आएपछि उनी म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका थिए । टोलीको प्रशिक्षण र आन्तरिक मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेपछि उनी छनोटका लागि योग्य भएका हुन् ।पोखरामा ३८ सदस्यीय टोलीले दुई साता प्रशिक्षण गर्ने योजना रहेको छ । अब छनोटमा ६ गोलरक्षकका रुपमा कप्तान किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार र अर्पण कार्की रहनेछन् । त्यस्तै फरवार्ड आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, अन्जन विष्ट, सन्जोग राई र सुनिल बल पनि टोलीमा छन् ।
डिफेन्डर अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्जित धिमाल, रोहित चन्द र सुमन अर्याल टोलीमा अटाएका छन् । एन्फाले वेबसाइटमा राखेको सुचीमा राजनको नाम नभएपनि उनी टोलीसँग पोखरामा जानेछन् । यसअघि जर्जप्रिन्सको नाम छुटेपनि एन्फाले पछि उनको नाम थपेको थियो ।
मिडफिल्डमा नितिन थापा, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, शिशिर लेखि, आयुष घलान, विशाल राई, विक्रम लामा, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका छन् ।
यसअघि प्रारम्भिक छनोटबाट डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का तथा मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ र रवी पासवान बाहिरिएका थिए । फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ र सुदिल राई पनि दोस्रो चरणमा बढ्न सकेनन् ।
साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दशरथ रंगशालामा १७ र २० भदौमा दुई मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको छ । नेपालले भारतबाट नै प्रस्ताव आएको कारण खेल पक्का भइसकेको बताइरहँदा भारतले भने खेल हुनेबारे अन्तिम निर्णय बाँकी रहेको बताएको छ । यस्तै बंगलादेशले पनि मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको बुझिएको छ ।यता एन्फाले अर्को निर्णय नहुँदासम्म प्रशिक्षक अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नहुन टोलीका व्यवस्थापकलाई पत्र लेखेको थियो । त्यसबारे एन्फाले हालसम्म नयाँ निर्णय गरिसकेको छैन । दुवै पक्ष विवाद समाधान गर्न सहमतिमा आएको भनिएपनि एन्फाले औपचारिक रुपमा कुनै धारणा दिएको छैन ।
यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको भनिएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ ।
छानबिन समितिले नेम्बाङ, अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङसहित झण्डै १३ जनालाई बयानका लागि पत्र काटेको छ । ‘विवादसँग जोडिएका पदाधिकारी र व्यक्तिहरुको भनाई सुन्नका लागि हामीले पत्र काटेका छौं’, समितिकी सदस्य सुवर्ण श्रेष्ठले भनिन्, ‘छलफलका क्रममा आवश्यक देखियो भने अन्य व्यक्तिहरुलाई पनि बोलाउनेछौं ।’
पत्र काटिएका लागि अलग अलग समय दिएर बोलाइएको श्रेष्ठले बताइन् । ‘हामीले मंगलबारबाट छलफल सुरु गर्दैछौं । सबैलाई अलग अलग समय दिएर बोलाएका छौं’, उनले थपिन्, ‘तीन दिन भित्रमा छलफल सक्ने योजनामा छौं ।’नेम्बाङ र अलमुताइरीबीच गत मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने बताइएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।नेपाल एक्वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो । एन्फाले पनि विवाद समाधान गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस भएको थियो । मन्त्रालयले दिएको निर्देशन अनुसार राखेपले मंगलबार नै सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयाका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।
सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।
त्यस विषयमा छलफल गर्न साउन १५ गते बसेको एन्फा केन्द्रिय समितिको आपतकालिन बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको थियो ।साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीले पोखरामा बुधबारबाट प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।
दुई पक्षबीच आपसी सहमति भएपनि त्यसलाई छानबिन समितिले स्वीकार नगर्ने छानबिन समितिका संयोजक लाखेले बताए । ‘मन्त्रालयले राखेपलाई पत्र दिएपछि गठन भएको समितिले आफ्नो काम गर्छ’, उनले भने, ‘अब कसले कहाँ के विषयमा सहमत गर्छन् त्यसलाई छानबिन समितिले मान्यता दिदैन । समितिले आफ्नो काम अघि बढाउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *