साउथ फिल्म ‘थिरिमाली’ मा नेपाली अभिनेत्री स्वस्तिमालगाएतको अभिनय


काठमाडौं, २५ साउन । साउथ फिल्म ‘थिरिमाली’ मा दक्षिण भारतीयसँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङ लगायतको पनि अभिनय रहेको छ । उनीहरुको भागको छायांकन नेपालमै भएको हो ।
फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज’ ले निर्माण गरेको साउथ फिल्म ‘थिरिमाली’ को सुटिङ प्याकअप भएको छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । फिल्मको मध्यान्तरपछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।
मनालीको दृश्य पनि नेपालको मुस्ताङ्गमा खिचिने तय भएको थियो । तर, कोरोनाका कारण सरकारले फिल्म छायांकनको अनुमति नदिएकाले नेपालको दृश्य भारतको मनालीमा कैद गरिएको हो ।
आइतवार निर्माण टिमले माओत्से गुरुङ फिचर सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनी नेपालको पहाडी क्षेत्रमा दृश्य दिँदै देखिएका छन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता न्यौपानेले बताए । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुने बताइएको छ ।
राजिव सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायत मुख्य भुमिकामा छन् । निर्माण टिमले छायांकन सुरु हुनुभन्दा अगाडि नै फिल्मको मोशन पोस्टर सार्वजनिक गरेको थियो । निर्माता न्यौपानेले नेपाल र भारतमा स्थिति सहज भएर पूर्ण रुपमा सिनेमा हलहरु खुलेपछि फिल्म प्रदर्शन गरिने बताए ।
यसैगरी, मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । शनिवार निर्माण टिमले फिल्ममा अभिनेता अनमोल केसीलाई अनुबन्ध गरेको थियो । उनीसँगै फिल्ममा अर्का अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । गत वर्षको लकडाउनअघि नै निर्माण टिमको उनीसँग मौखिक सहमति भए पनि कागजी सम्झौता आइतवार मात्र भएको हो ।
सौगातले तेस्रो पटक मुकुन्दसँँग काम गर्न लागेका हुन् । उनीहरुबीच ‘लप्पन छप्पन’ को दुई सिरिजमा सहकार्य भइसकेको छ । पहिलो पटक अनमोलसँग एकसाथ स्क्रिन शेयर गर्न लागेका सौगातले फिल्मको कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताएका छन् । फिल्ममा उनी कस्तो भूमिकामा देखिनेछन्, यसबारेमा भने निर्माण टिमले जानकारी दिएको छैन ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा छायांकन गरिने फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न पनि पहल गरिने निर्देशक भट्टले बताएका छन् ।
मल्टीस्टारर फिल्म बनाउन रुचाउने मुकुन्दले ‘एक्स ९’ मा पनि चलेका कलाकारहरुलाई एकसाथ पर्दामा उतार्दैछन् । फिल्ममा अनमोल र सौगातसँगै पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, प्रियंका थापाको पनि अभिनय रहनेछ । कलाकारको लाइनअप हेर्दा फिल्मले बक्सअफिसमा आँधी ल्याउने देखिन्छ । यो फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *