म्यूजिक भिडियोबाट चर्चामा आएकी मलिकालाई ‘नाईं नभन्नू ल ६’ को अफर


काठमाडौं, २३ साउन । म्यूजिक भिडियोबाट चर्चामा आएकी अभिनेत्री मलिका महतलाई ‘नाईं नभन्नू ल ६’ को अफर आएको छ । मलिकालाई सुपरहिट फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिजबाट पनि मुख्य नायिकाको प्रस्ताव आएको हो । यो कुरा उनी स्वयंले खुलाएकी हुन् । बिहीवार आफू अभिनीत ‘तिम्रो माया’ गीतको सार्वजनिक कार्यक्रममा उनले ‘नाईं नभन्नू ल ६’ बाट अफर आएको भए पनि कागजी सम्झौता नभइसकेको बताइन् । आफू दुवै फिल्मको टिमसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।
म्यूजिक भिडियो हुँदै फिल्ममा आएकी अभिनेत्री हुन्, मलिका महत । अभिनेता सलिनमान बनियाँसँग जोडी बाँधेर फिल्म ‘यात्रा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो फिल्मले नै फ्लप भयो । यद्यपि, उनको अभिनय र सुन्दरता भने दर्शकले रुचाए । यसपछि उनले खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानी फोटो’ मा काम गरिन्, जुन प्रदर्शनको पखाईमा छ ।
फिल्ममा काम गरेर पनि चर्चामा आउन नसकेकी मलिकालाई लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी’ गीतले एकाएक लाइमलाइटमा ल्यायो । साथै, उनको जोडी पल शाहसँग दर्शकले निकै रुचाए । यसपछि उनले पुनः पलसँगै ‘टाढा भएपनि’ गीतमा अभिनय गरिन् । यो गीतले पनि उनको लोकप्रियता चुल्याउन मद्दत ग¥यो । अहिले उनको म्यूजिक भिडियोमा ‘हाइ डिमान्ड’ छ ।
म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी मलिकाले लकडाउनयता प्रतिष्ठित ब्यानरबाट फिल्म अफर पाइरहेकी छन् । गोपीकृष्ण मुभिजले डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘पर्खि बसेँ’ को सिक्वेलमा मुख्य नायिकाको प्रस्ताव उनैलाई गरेको छ । फिल्ममा उनको जोडी पल शाहसँग बाध्ने तयारीमा गोपीकृष्ण छ । तर, पल र मलिकाले यो फिल्म साइन भने गरिसकेका छैनन् ।
लकडाउनपछि अभिनय गरेका म्यूजिक भिडियोबाट ठूलो ‘नेम र फेम’ कमाएकी उनलाई यतिबेला फिल्म अफरको कमी छैन । गोपीकृष्ण मुभिजले उनलाई ‘पर्खि बसेँ २’ र विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ को अफर गरेका छन् ।

तर, मलिकाले लकडाउनयता अफर आएका कुनै फिल्म साइन गरेकी छैनन् । न त फिल्म छनौट गर्न नै उनी हतारिएको देखिन्छ । म्यूजिक भिडियोमा व्यस्तता बढेपछि उनी फिल्म छनोटमा चुजी भएको कतिपयको टिप्पणी छ । तर, मलिकाले कोरोनाका कारण अफर आएको फिल्मको टिमसँग लगातार छलफल हुन नसकेकाले कागजी सम्झौताको प्रक्रिया अगाडि नबढेको बताएकी छन् ।
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘फिल्म छनौटमा चुजी भएर साइन गर्न ढिला गरेको चाहिँ होइन । कोरोनाले गर्दा फिल्म छायांकनमा निस्कन सकेका छैनन् । अधुरै रोकिएका फिल्मको मात्र यतिबेला छायांकन भइरहेका होलान्, नयाँ फिल्मको भएको छैन । फिल्मबाट अफर त आइरहेको छ तर कोरोनाले गर्दा फिल्म साइन गर्ने वातावरण बन्न सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *