सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै जनताको पक्षमा काम गर्ने विषयमा शीर्ष नेताहरूबीच सहमति

 


काठमाडौँ, १९ साउन । सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा अधिकतम काम गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण बनाउने तयारी छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो । सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाएको हो । कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन् । कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको केही दिन बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अब केही दिनमै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने निष्कर्षमा समेत शीर्ष नेता पुगेको बताइएको छ ।
यसैगरी, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित उनी पक्षीय स्थायी कमिटी सदस्यहरूबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरूबारे छलफल भएको छ । छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रकृयामा सहभागि सदस्यहरुले जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए ।

छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त भएको पनि उनको भनाइ छ । यस्तै पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट बताएका थिए । उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’
बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *