कलाकार र निर्देशकको रुपमा स्थापित गरेकी भन्दै ‘दीपाश्रीको प्रशंसा

काठमाडौं, १९ साउन । ‘दीपाश्री निरौलाले जसरी संघर्ष गरेर कलाकार र निर्देशकको रुपमा आफूलाई स्थापित गरेकीमा भुवन केसीले प्रशंसा गरेका छन । ‘छक्का पञ्जा’ सिरिजको ऐतिहासिक सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले नेपाली फिल्म इन्डस्ट्रीमा आफ्नो प्रभुत्व जमाएको छ । यो टिमसँग सहकार्य गरेर फिल्म बनाउन अहिले जो कोही निर्माता तयार छन् । फिल्म निर्माणमा अभिनेता भुवन केसीको ब्यानर ‘सुपर काजल फिल्मस’ पनि सफल मानिन्छ । गत वर्ष यी दुई समुह फिल्ममा टिमअप गर्ने तयारीमा थिए ।
दीपकराज गिरी र अनमोल केसीलाई एकसाथ लिएर फिल्म बनाउन दुवै टिम केही चरण छलफलमा बसेका थिए । तर, कोरोना महामारी सुरु भएसँगै फिल्मको काम अगाडि बढ्न सकेन । त्यसैक्रममा दीपाश्रीको टिमसँँग भुवन केसीको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले सम्बन्ध विग्रिएको चर्चामा सत्यता नभएको बताए ।
दीपाश्री भन्छिन्, ‘भुवन दाईसँग सम्बन्ध न कहिले विग्रिएको थियो न भोलीका दिनमा नै विग्रन्छ । भुवन दाई र हामी टिमअप गरेर एउटा फिल्म बनाउने तयारीमा थियौं । तर, कोरोना र लकडाउनले रोकियो । माहोल राम्रो भयो भने हामी फिल्ममा टिमअप गर्छौं ।’ भुवन केसीले पनि दीपाश्रीसँँग कहिल्यै सम्बन्ध नविग्रिएको दाबी गरे । उनले दीपाश्रीको प्रशंसामा पनि शब्द खर्चिएका छन् ।
‘दीपाश्रीले जसरी संघर्ष गरेर कलाकार र निर्देशकको रुपमा आफूलाई स्थापित गरेकी छन्, फिल्म क्षेत्रले उनलाई सलुट गर्नुपर्छ । यस्तो महान व्यक्तिसँँग म्यूजिक भिडियोमा भए पनि काम गर्न पाएँ एकदमै खुसी छु,’ उनले भने । दीपाश्रीको टिमसँग फिल्ममा टिमअपको तयारी भइरहेको पनि उनले बताए । स्थिति सामान्य भएपछि टिमअपका लागि पुनः छलफल गरिने उनको भनाई छ ।
यसैगरी, अभिनेता भूवन केसीले आफ्नो करिअरमा कयौं सुपरहिट र सम्झनलायक फिल्म दिएका छन् । सम्भवतः नेपाली फिल्ममा उनी जति सफल फिल्म दिने नायक छैनन् । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका उनले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए । नेपाली म्यूजिक भिडियोका पहिलो मोडल समेत रहेका उनले फिल्म ‘जुनी’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् ।
उनको परिचयको दायरा नायक र गायकको रुपमा मात्र सीमित छैन । करिअरको उत्कर्षमा रहँँदा उनले ‘करोडपति, नेपाली बाबू’ लगायतका फिल्म निर्माण गरे भने अभिनयबाट निस्क्रिय हुन थालेपछि फिल्म ‘ड्रिम्स’ बाट निर्देशनमा हात हाले । नेपाली फिल्मको मेकिङमा परिवर्तन ल्याउन उनको ठूलो भूमिका मानिन्छ । तर, कुनै बेला फिल्म बनाउन घर बैंकमा राखेको उनी स्मरण गर्छन् ।
शनिवार आफू अभिनीत एक गीतको सार्वजनिक कार्यक्रममा उनले भने– ‘मैले आफ्नो करिअरमा सेलेक्टेड फिल्ममा मात्र काम गरेँ । मैले चाहेको भए ५ सयभन्दा बढी फिल्म गर्न सक्थेँ । तर, मैले कहिल्यै फिल्म छनोटमा हेलचेक्राइ गरिनँ । अझ राम्रो फिल्म बनाउन घर बैंकमा राखेर आफैं फिल्म निर्माणमा होमिएँ । नेपाली फिल्म अझ राम्रो क्वालिटीमा जोओस् भन्ने मेरो उद्देश्य थियो ।’
उनी अगाडि भन्छन्, ‘त्यसबेला नेपाली फिल्मलाई हिन्दी फिल्मले डोमिनेट गर्थ्यो । म चाहन्थेँ कि नेपाली फिल्मले हिन्दी फिल्मसँँग प्रतिस्पर्धा गरोस् । त्यसका लागि मैले निर्मातालाई यस्तो फिल्म बनाउनुस् भनेर भन्न सक्दिनँ थिएँ । त्यसैले म आफैंले घर बैंकमा धितो राखेर ‘करोडपति, नेपाली बाबु’ लगायतका फिल्म निर्माण गरेँ । फिल्म मेकिङमा लागेपछि अभिनय गर्न कम हुँदै गयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *