एसिया तेक्वान्दो ओपन पुम्से च्याम्पियनसिपमा नेपाललाई ३ स्वर्ण

काठमाडौं, १९ साउन । अमेरिकामा भएको डिजी एसिया तेक्वान्दो ओपन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् ।पुम्से पुरुष ४० वर्ष मुनी सञ्जिब नेपाली, महिला ३० वर्ष मुनीमा सन्दीपा अमगाई र पुरुष ५० वर्ष मुनीमा प्रेमकुमार दर्नालले स्वर्ण जितेका हुन् । डिजे तेक्वान्दो फिलिपिन्स र ओएनजी तेक्वान्दो अमेरिकाको आयोजनामा शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको प्रतियोगितामा नेपालसहित अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, अष्ट्रेलिया, सिंगापुर र स्लोभेनियाका खेलाडीको सहभागिता रहेको जनाइएको छ ।
सञ्जिवले ५.४३३ अंकका साथ आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका थिए । उनले अमेरिकाका क्लेभे कोलाडोलाई पराजित गरेका थिए । त्यस्तै सन्दीपाले ५.४०० स्कोर गरेकी थिइन् । उनले अमेरिकाकी सानोन मासडेनलाई हराएकी थिइन् । ५.०६७ अंकका साथ प्रेम आफ्नो उमेर समूहको च्याम्पियन बनेका थिए । उनले अमेरिकाका टिम ओमेरालाई पराजित गरेका थिए ।
यसैगरी, चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य गरी कुल ५१ पदक जितेको छ ।
आइतबार चार स्वर्ण जितेको अमेरिका २० स्वर्ण, २३ रजत र १६ कास्यगरी कुल ५९ पदकसहित दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ ।
१४ स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल ३१ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा उकिलएको छ । रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, १९ रजत र १३ कास्यसहित ४४ पदक जित्दै पाँचौ स्थानमा झरेको छ ।
इंग्ल्यान्ड १० स्वर्ण, १० रजत र १२ कास्यगरी कुल ३२ पदक जितेर छैटौं स्थानमा रहेको छ । फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यसहित २१ पदक जितेर सातौ स्थानमा उक्लदा दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ८ कास्यगरी कुल १७ पदक हात पार्दै आठौं स्थानमा रहेको छ ।इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यगरी २७ पदकसहित नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ६ कास्यगरी १७ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।
जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले समान ४ स्वर्ण जितेका छन् । क्यानडा, स्वीट्जरल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १६ मा अटाएका छन् । ब्राजिल, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया, इक्वेडर, कोसोभो र कतारले दोहोरो स्वर्ण जित्न सफल भएका छन् ।स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुलएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, डेनमार्क, सर्विया, बेल्जियम, जमैका, नर्वे, पोल्यान्ड, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, टर्की, बेलारुस, इस्टोनिया, फिजि, उज्वेकिस्तान, बर्मुडा, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५३ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
यस्तै, टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फ हाइ जम्प इभेन्टमा कतारका मुताज एस्स बर्शिम र इटालीका जियानमारको ताम्बेरी दुवै जनाले स्वर्ण पदक जितेका छन् ।
झन्डै २ घण्टा चलेको प्रतिस्पर्धापछि दुवै खेलाडीले समान २.३७ मिटरको उचाइ पार गरेका थिए । दुवै खेलाडीलाई अर्को एक अवसर दिएर विजेता छिनोफानो गर्ने अवसर दिइएको थियो । तर दुवैले खेलभावनाको कदर गर्दै पदक बाँड्ने निर्णय लिए । दुवैले सँगै जितको खुसी पनि साटेका थिए ।
२.३७ मिटर दुरी पार गरेपछि दुवै जनाले २.३९ मिटरको ओलम्पिक कीर्तिमान बराबरीका लागि प्रयास गरेका थिए । तर तीन प्रयासमा असफल भएपछि पुरानो नतिजामा कुनै असफल नभएका उनीहरुलाई खेलका अफिसियलले अर्को प्रयास गर्ने सहमतिका लागि प्रश्न गरे । उनको प्रश्नमा कतारका बर्शिमले दुवैले जित्न सकिनेबारे प्रतिप्रश्न गरे । अफिसियलले सम्भव भएको बताउन नपाउँदै कतार र इटालीका खेलाडीले एक आपसमा अंकमाल गर्दै पदकको खुसी साटे । सन् १९१२ यता एथलेटिक्समा पदक बाँडिएको पहिलो अवसर हो ।
यसै स्पर्धामा बेलारुसका माक्सिम नेदसेकाउले कास्य जिते । उनले पनि २.३७ मिटर उचाइ पार गरेका थिए । तर उनी त्यसअघि प्रयासमा असफल भएका थिए ।
बर्शिम र ताम्बेरीबीच मैदानबाहिर पनि राम्रो सम्बन्ध रहेको छ । रियो ओलम्पिक दौरान करिअर नै धरापमा पर्ने चोट बोकेका ताम्बेरीले खुसियाली मनाउने क्रममा उक्त चोटका क्रममा राखिएको प्लास्टरसहित तस्बिर खिचेका थिए । बर्शिम पनि चोटबाट पुनरागमन गर्दै स्वर्ण जित्न सफल भएका हुन् ।बर्शिमको पदकसँगै कतारले ओलम्पिक इतिहासमा दोस्रो स्वर्ण जितेको छ । यसअघि शनिबार भएको भारोत्तोलनको पुरुष ९६ किलो तौल समूहमा फारेस एल्बाखले कतारलाई पहिलो स्वर्ण दिलाएका थिए । बर्शिमले विश्व च्याम्पियनसिपमा पनि लगातार स्वर्ण जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *