साफ च्याम्पियनसिप आयोजनाका लागि १० करोड खर्च हुने अनुमान


काठमाडौं, १७ साउन । साफ च्याम्पियनसिप आयोजनाका लागि १० करोड रुपैयाँ खर्च हुने एन्फाले अनुमान गरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने कुल दश करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफलाई अनुरोध गर्ने एन्फाले निर्णय गरेको छ ।एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले साफ आयोजनाका लागि सरकारले ५ करोड रुपैयाँ प्रदान गर्ने मन्त्री स्तरीय निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिने समेत निर्णय गरेको छ । साफ च्याम्पियनसिका लागि प्रस्ताव गर्ने साफले एन्फालाई आग्रह गरेको थियो । सरकारबाट आयोजनाका लागि ५ करोड रुपैयाँ श्रोत सुनिश्चितता प्रतिवद्धता पत्र प्राप्त भएको एन्फाले जनाएको छ ।
शुक्रबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए । आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए ।
आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव राख्ने अवसर पाएको थियो । आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ । प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको हो । आयोजना दावी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ ।
यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ । पछिल्लो पटक नेपालले सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गर्दा सेमिफाइनल पुगेको थियो । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुगेको छैन ।
यसैगरी, आफ्ना वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) असफल भएको छ । एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठक विवाद समाधानका लागि आपसी सहमति जुटाउन नसक्दा छानबिनका एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । ‘स्वतन्त्र छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ’, एन्फा कार्यसमितिको आपतकालीन बैठकपछि शुक्रबार साँझ एन्फा प्रवक्ता किरण राईले भने ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठकमा अलमुतारीलाई कारवाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्केका थिए । त्यसअघि अलमुताइरीलाई पनि बैठकमा आफ्नो कुरा राख्न बोलाइएको थियो ।
वरिष्ठ उपाध्यक्ष र सञ्चारकर्मीको निवेदन वाचन गर्दा अलमुताइरी रिसाएर बैठकबाट निस्केको नेम्बाङले बताएका थिए । नेम्बाङका अनुसार अलमुताइरीले दुई जना सञ्चारकर्मीले आफूलाई टर्चर दिएको र त्यसबाट असुरक्षीत महसुस गरेको अरोप लगाएका थिए । उनले एन्फाले आफ्नो सुरक्षा नगरेको समेत जनाएको बताइएको छ ।
वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छानबिनका लागि अलग अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि केन्द्रिय समितिको आपकालीन बैठक बसेको थियो । ‘प्रशिक्षकले राजीनामा दिनुभएको छैन । उजुरी दर्ता गर्नुभएको छ । उहाँले मेरो कारणले राजीनामा दिएको भन्नुभएको छ’, वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने, ‘मैले पनि आफूलाई आरोपको विषयलाई लिएर छानबिनको माग गरेको छु ।’
नेम्बाङले अलमुताइरीले पद्धतीको पालना गरेकोमा भने स्वागत गरेका छन् । ‘उहाँले घटनाको छानबिन गर्न निवेदन दिनुभएको छ । म त्यसको स्वागत गर्छु’, उनले थपे, ‘सिस्टममा आउनुभयो । दुई जना पत्रकार र मेरो विरुद्ध निवेदन दिनुभएको छ ।’ आफूले व्यक्तिगत भन्दा पनि संस्थागत विषयमा छानबिनको माग गरेको नेम्बाङले प्रष्ट गरेका छन् ।‘मेरो फुटबलको योगदानमा धब्बा लगाउने काम भयो । व्यक्तिगत आरोप मात्रै त मैले विर्सन पनि सक्छु । उहाँले एन्फाको एउटा कर्मचारी हो । विदेशी प्रशिक्षक हुँदैमा जे पायो त्यहि गर्ने छुट छैन । उहाँले वरिष्ठ उपाध्यक्षमाथिको आरोप हो । उहाँले अनुशासन तोड्नुभएको छ। त्यसैले यो संस्थागत विषय हो’, उनले भने, ‘संस्थाले छानबिनका लागि आवश्यक निर्णय लिनेमा मलाई विश्वास छ । छाबिनको निर्णय गर्नेछ भन्ने विश्वास छ । न्यायसंगत निर्णय हुनुपर्दछ । एन्फाले संस्थाको हकहितमा निर्णय लिनुपर्यो ।’
नेम्बाङले अध्यक्ष शेर्पाले बैठकमा पटक पटक कुरा फेरेको बताए । ‘उहाँ प्रशिक्षकको कारण दबाबमा आएर पटक पटक कुरा फर्ने भयो’, उनले भने, ‘हामी कसरी सर्वोच्च संस्थाको नेतृत्व गर्छौं भन्ने हो । छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनुहुनेछ । संस्थाको हितमा निर्णय गर्नु हुनेछ भन्ने विश्वास छ ।’
गत साता बिहीबार आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए । यद्दपी उनले लिखित राजीनामा भने दिएका छैनन् ।
अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका थिए । नेम्बाङको माग अनुसार नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रिय समितिको आपकालीन बैठक डाकेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *