नेपाली कांग्रेसका प्रभावशाली नेताहरुबीच भेटवार्ता

काठमाडौँ, १७ साउन । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको विषयमा छलफल गर्न प्रभावशाली नेताहरुबीच अर्थपूर्ण भेटवार्ता भएको छ । शनिबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो । कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिनुहुने उनिहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।
नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनिहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनिहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उनिहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन । यसअघि पनि उनिहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *