फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह


काठमाडौं, १३ साउन । फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन कलाकार संघले आग्रह गरेको छ । केही दिनअघि निर्देशक तथा निर्माता श्रीदेव बि.एलको नेतृत्वमा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, भुवन केसी, धिरेन शाक्य, गोबिन्द शाही लगायतले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका थिए । मन्त्री शर्माले पनि चाँडै फिल्मकर्मीलाई खोपको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।
नेपाल सरकारले फिल्मकर्मीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले फिल्मकर्मीलाई खोप लगाउन प्रबन्ध मिलाउने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार संघले फिल्मकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । खोप लगाउन चाहने इच्छुक फिल्मकर्मीले यही साउन १३ गतेभित्र आफ्नो विवरण पठाउनु पर्ने संघले जनाएको छ ।
१८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका फिल्मकर्मीको छुट्टाछुट्टै विवरण भरेर पठाउन चलचित्र निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संस्थालाई पत्राचार गरिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । केही दिनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर खोप केन्द्र तोकिने उनको भनाई छ ।
समयमै खोप आयात भएमा साउन १६ र १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार, तीन हजार फिल्मकर्मीले खोप लगाउने अपेक्षा गरिएको छ । खोप लगाएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै फिल्मका गतिविधि सुचारु गर्न सकिने उनले बताए । कोरोनाका कारण लामो समयदेखि फिल्म निर्माण र प्रदर्शन ठप्प छ ।
यसैगरी, गत वर्ष चलचित्र विकास बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै स्टोरी बैंक स्थापना गरेको थियो । बोर्डले अगाडि सारेको स्टोरी बैंकको अवधारणालाई सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सम्बोधन पनि ग¥यो । अब ‘स्टोरी बैंक’ मा दर्ता हुने कथा तथा पटकथामध्ये केहीलाई छनौट गरेर चलचित्र विकास बोर्डमार्फत् सरकारले सह–लगानी गर्नेछ ।
स्टोरी बैंकलाई कार्यन्वयनमा ल्याउन चलचित्र विकास बोर्डले सोमवार गोरखा पत्र दैनिकमा सूचना प्रकाशन गर्दै ६० दिनभित्र कथा तथा पटकथा पेश गर्न आह्वान गरेको छ । मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, साँस्कृतिक, सन्देशमूलकमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट कथा, पटकथा छनौट गरी सह–निर्माण गरिने सूचनामा उल्लेख छ ।
त्यस्तै, स्टोरी बैंकमार्फत् कथा, पटकथा लेखनमा लेखकहरूलाई आवश्यक पर्दा विशेषज्ञता समेत उपलब्ध गराउने र त्यस्ता कथा, पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरूको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गरिने भएकाले अबको ६० दिनभित्र कथा तथा पटकथा पेश गर्न बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।
स्टोरी बैंकमा सहभागिताका लागि कथा, पटकथा लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्ने, चलचित्रको कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गरेको हुनु नहुने, लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्ने, कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए कथा, पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र पेश गर्नुपर्ने सर्त राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *