आइसिसीको टि२० ब्याटिङ वरीयतामा सन्दीप, ज्ञानेन्द्र र पारस खस्किए


काठमाडौं, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ब्याट्सम्यान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा खस्किएका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान खस्किदै ९७ औं स्थानमा पुगेका छन् ।
ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ५७ छ । पूर्व कप्तान पारस खड्का तीन स्थान खस्किदै ९४ औं स्थानमा पुगेका छन् । पारसको ३ सय ६२ रेटिङ प्वाइन्ट छ । युवा ब्याट्सम्यान कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ६० र्औ स्थानमा उक्लिएका छन् । कुशलले वेस्ट इन्डिजका निकोलस पुरन, काइरन पोलार्ड र भारतीय ऋषभ पन्त जस्ता ब्याट्सम्यानलाई पछि पारेका छन् । पुरन ६३ औ , पोलार्ड ६६ औं र पन्त ७५ औं स्थानमा छन् ।
स्पिनर सन्दीप लामिछाने चार स्थान खस्किदै ८२ औं स्थानमा पुगेका छन् । सन्दीपको ४ सय ५ रेटिङ अंक छ । तीव्र गतिका बलर सोमपाल कामी भने ९७ औं स्थानमा उक्लिएका थिए । अघिल्लो हप्ता वरीयतामा सोमपाल शीर्ष एक सयमा भने थिएनन् । सोमपालको ३ सय ५९ रेटिङ अंक छ ।ब्याटिङको शीर्षतर्फ इंग्ल्यान्डका डेविड मलान छन् । पाकिस्तानका बाबर आजम दोस्रो, अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौ स्थाानमा यथावत छन् ।
बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी शीर्ष स्थानमा छन् । श्रीलंका स्पिनर वानिन्दु हसरंगा दोस्रो स्थानमा उक्लिदा अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा पुगेका छन् । टि२० अलराउन्डरतर्फ भने अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा यथावत छन् । नेपालले पछिल्लो पटक २० आई खेल टियु मैदानमा गत वैशाखमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । टिम वरीयतातर्फ नेपाल २० मा १२ औं र ओडिआईमा १६ औं स्थानमा यथावत छ ।
यसैगरी, टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८–८ खेलाडी रहेका छन् ।
एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । अन्य हिटमा प्रतिस्पर्धा गर्ने खेलाडीले एलेक्सभन्दा राम्रो समय निकालेका छन् । एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए ।
नेपालबाट यसअघि शनिबार दुई खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *