फिल्म ‘डाँडाको बर पीपल’ को छायांकन भदौ १ गतेबाट सुरु हुने


काठमाडौं, ११ साउन । निर्देशक शोभित बस्नेतले गत चैत दोस्रो साता फिल्म ‘डाँडाको बर पीपल’ को गीत खिच्दै छायांकन सुरु गरेका थिए । तर, गीतको छायांकन सकिएको केही दिनमै कोरोनाको दोस्रो महामारीका कारण देशमा निषेधाज्ञा जारी भयो ।
अब निषेधाज्ञा खुकुलो भएसँगै उनी फिल्मको बाँकी छायांकन सुरु गर्ने तयारीमा जुटेका छन् । आउँदो भदौ १ गतेबाट छायांकन सुरु गर्न लागेको उनले बताए । शोभित भन्छन्, ‘हामीले गीत खिच्दै फिल्मको छायांकन सुरु गरेका थियौं । तर, गीतको छायांकन सकिएको केही दिनमै निषेधाज्ञा जारी भएपछि फिल्मको अरु दृश्य खिच्न पाएनौं । अब भदौ १ गतेबाट बाँकी छायांकन थाल्ने छौं ।’
कोरोना महामारीले फिल्म क्षेत्र विगत डेढ वर्षदेखि कोमामा छ । गत वर्ष कोरोनाका कारण ९ महिना बन्द भएको फिल्म क्षेत्र लकडाउनपछि केही चलायमान भएको थियो । तर, फेरि कोरोनाको दोस्रो लहर फैलिएपछि फिल्म निर्माण र प्रदर्शन ठप्प भयो । तीन महिना लामो निषेधाज्ञा खुकुलो भएसँगै अहिले विभिन्न क्षेत्र खुल्न थालेका छन् । तर, फिल्म क्षेत्र बन्दको बन्दै छ ।
कोरोनाका कारण सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दुई दर्जन बढी फिल्म रिलिज हुन पाएका छैनन् भने एक दर्जन बढी फिल्मको छायांकन अधुरैमा रोकिएको छ । जसले गर्दा निर्माताले फिल्ममा गरेको करोडौंको लगानी जोखिममा परेको छ । गत वर्ष लकडाउन अन्त्य हुनु अगावैदेखि फिल्म निर्माणमा बाढी आएको थियो । तर, अहिले निर्माताहरु पर्ख र हेरको अवस्थामा छन् ।
केही निर्माता तथा निर्देशक भने सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिएपछि कोरोनाले रोकिएको फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् ।
शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द छ । फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा रहेका शिव र गौरीले करीब २० वर्षपछि एकसाथ काम गरेका हुन् ।
यसैगरी, निर्देशक नवल नेपाल नारी संवेदनामाथि फिल्म बनाउन नामी मानिन्छन् । ‘श्रीमान, मंगलम, मारुनी’ फिल्ममा उनको निर्देशकिय क्षमताको निकै प्रशंसा भएको थियो । गत वर्ष उनी एक नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिए । तर, कोरोना महामारीका कारण उनले फिल्म सुरु गर्ने आँट गरेका छैनन् । बरु, गत वर्षको लकडाउनपछि उनले ‘दिल चुप छ’ नामक सिरिजको निर्देशन गरे ।शनिवारबाट उक्त सिरिज प्रशारणमा आएको छ । बि.एम.एच.डि टेलिभिजनमा हरेक शनिवार साँझ साढे ७ बजे प्रशारण भएपछि यो सिरिज बुढासुब्बाको युट्युब च्यानलमा सार्वजनिक हुनेछ । बैबाहिक जीवनका आरोह अवरोह र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई सिरिजमा उतारिएको छ । मदन कश्यप घिमिरेले छायांकन रहेको सिरिजका लेखक दिनेश न्यौपाने हुन् ।
निर्देशक नेपाल सिरिजलाई फिल्मको लुक्स दिन खोजेको बताउँछन् । कोरोना भाइरसका कारण सिनेमा हल बन्द भएर फिल्म हेर्न नपाएका दर्शकलाई सिरिजले फिल्म हेरेको भान गराउने उनको विश्वास छ । उनी भन्छन्, ‘फिल्म खिच्ने गरेको क्यामेराले नै सिरिज खिचेका हौं । फिल्मको फ्लेवर आओस् भनेर हामीले स्क्रिन प्ले र कलाकारहरुको उपस्थितिलाई त्यही अनुरुप प्रस्तुत गरेका छौं ।’
सिरिजमा काम गर्न असाध्धै गाह्रो हुने उनको अनुभव छ । पहिला धेरै सिरियलमा सहायक निर्देशकको रुपमा काम गरेको भए पनि आफूलाई फिल्ममा नै काम गर्न सजिलो लाग्ने उनी बताउँछन् । सिरिजमा स–साना कुरालाई पनि प्रस्तुत गर्न सकिने र पहिलो पार्टमा केही गल्ती–कमजोरी भए दोस्रो पार्टमा त्यसलाई सच्च्चाउन पाइने पक्ष सिरिजको सबैभन्दा राम्रो रहेको उनको भनाई छ ।
नवराज गिरी र सरस्वती गिरीको संयुक्त निर्माण रहेको सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिश्ता बस्नेत, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल, प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरी, शिक्षा संग्रोलाको अभिनय छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *