महालक्ष्मी विकास बैंकले आधुनिक बैंकिङ्ग सेवा दिने

 

काठमाडौं, १२ असार । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवाको शुरुवात गरेको छ । आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ्ग सेवा, बैंकको शाखाहरूको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोवाइल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् । तत्कालै बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग विधि तथा त्यसको उपयोगिताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्ने बैंकले जनाएको छ ।
यसैगरी, हिमालयन बैंक लिमिटेड र ई—कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५% वा अधिकतम ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितिबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *