फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक, प्रदर्शन मिति अनिश्चित

काठमाडौं, २९ वैशाख । नेपाली अभिनेत्री शिल्पा पोखरेल अभिनीत नयाँ भोजपुरी फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको ट्रेलरमा शिल्पाले पर्याप्त स्क्रिन स्पेश पाएकी छन् । फिल्ममा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको छ । फिल्ममा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् । उनीहरुको प्रेममा आउने उतार–चढावलाई ट्रेलरमा देखाइएको छ । ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति घोषणा गरिएको छैन ।
नेपालको पोखरा आसपास खिचिएको फिल्मलाई नेपाली मुलका सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको ट्रेलर हेर्दा नेपाली फिल्म ‘प्रेमगीत’ को झल्को आउँछ । सोनु खत्री स्वयंले फिल्मको निर्माण गरेका हुन् । रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म नेपालकै छन् । हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी, समिर मियाँको भिएफएक्स, रेनेश फागोको कलर, उमालाल यादवको शब्द रचना रहेको फिल्मको कथा एवी मोहनको हो ।
शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरिसकेकी छन् । यो फिल्ममा पनि उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको थियो । शिल्पा यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । साथै, आफूलाई भोजपुरी मार्केटमा अभिनेत्रीको रुपमा स्थापित गर्नेमा पनि विश्वस्त छिन् ।
यसैगरी, फिल्मको पर्दामा प्रायः भिलेनको भूमिका देखिने गरेका अभिनेता अनुपविक्रम शाहीले रियल लाइफमा भने हिरोको छवि बनाएका छन् । गत वर्ष कोरोनाका कारण जारी लकडाउनमा रोजगारी गुमेर हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई निःशुल्क खाना वितरण गरेका उनले धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा आश्रित बालबालिकालाई पनि सहयोग गर्दै आएका छन् ।
अघिल्लो वर्ष उनले आफ्नो जन्मदिन समेत सोही बालआश्रममा मनाएका थिए । सो अवसरमा उनले खाद्यन्नसँगै ६ थान ल्यापटप सहयोग गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि राहतको आशमा बसेका बालबालिकालाई अनुपले फेरि सहयोग गरेका छन् । आश्रमका ३२ जना बालबालिकालाई उनले मंगलवार डेढ महिनासम्म पुग्ने खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
गत वर्ष जन्मदिन मनाउने क्रममा आश्रममा रहेका बालबालिकाहरुको अभिभावक बन्ने प्रण गरेका कारण आफूले नियमित रुपमा बालबालिकाको निगरानी गर्दै आएको अनुप बताउँछन् । उनले गत वर्ष उक्त आश्रमलाई तीन–तीन महिनामा खाद्यन्न लगायतका सामाग्री सहयोग गर्ने वचन दिएका थिए । यो कठिन समयमा समस्या रहेका व्यक्तिहरुलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।
निषेधाज्ञा जारी हुनुभन्दा एक हप्ता अगाडि फिल्म ‘जार’ को छायांकन सकेर सिक्किमबाट नेपाल आएका उनी बैशाख अन्तिमबाट फिल्म ‘सत्यम्’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएकाले फिल्म छायांकनमा जान सकेन । यसमा उनले अभिनेता राजेश हमालसँग दोस्रो पटक स्क्रिन शेयर गर्दैछन् । फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *