उपत्यकामा बिहिवारदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द

काठमाडौँ, २९ वैशाख । काठमाडौँ उपत्यकामा भोलि बिहिवारदेखि अत्यावश्यक बाहेकका कार्यालयहरू बन्द हुने भएको छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।
काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ । “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने÷गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्युनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।
यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो ।
उपत्यकाको तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।
उहाँका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छ । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।
सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।
सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

यसैगरी, मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ ।
यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीबकरीब मुलुक नै ठप्प हुन पुगेको छ ।
स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रूप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिनुभएको छ । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।
मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ । खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।
रुकुम(पूर्व)ले पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम सङ्क्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ ।
मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अङ्क देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिण्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ ।
नेपालमा पछिले साताको विष्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा प्रति १० लाख ३०४ र भारतमा २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ । पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय सङ्क्रमितको संख्या एक लाख नाघिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *