एपिएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिस क्लब बन्यो च्याम्पियन

काठमाडौं, २९ फागुन । नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । पुलिस क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको च्याम्पियन बनेको हो । शनिबार फाइनलमा विजेता पुलिसले ५ लाख र उपविजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गरेका छन । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमला ८२ बलमा ७ चौका र २ छक्का सहित ५९ रनमा अविजित रहे । धमलाले २३ औं ओभरको चौथो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै ७६ बलमा अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । दीपेन्द्रले अभिनाश बोहरालाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । अनिल शाह र कुशल भुर्तेल १५–१५ रनमा आउट भए । एपिएफका भुवन कार्की र अभिनाश बोहराले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ २९.४ ओभरमा १ सय ५ रनमा अल आउट भएको थियो । एपिएफका वसन्त रेग्मीले ४१ बलमा ३ चौका सहित सर्वाधिक २२ रन बनाए ।युवा दायाँ हाते तीव्र गतिका बलर गुलशन झाले पहिलो ओभरको पाँचौं बलमा ओपनर शंकर रानालाई ४ रनमा अनिल शाहबाट क्याच आउट गराए । दोस्रो ओभरको तेस्रो बलमा सागर ढकालले आसिफ शेखलाई शून्यमा क्याच गराए । गुलशनले तेस्रो ओभरको पहिलो बलमा कप्तान शरद भेषावकरलाई विकेटकिपर दीलिप नाथबाट शून्यमा क्याच आउट गराएपछि १०–३ को कमजोर अवस्थामा पुगेको थियो ।
चौथौ विकेटका लागि भुवन कार्की र सन्दीप जोेराले ३२ रनको साझेदारी गरेका थिए । गुलशनले नवौं ओभरको पाँचौं बलमा भुवन कार्कीले दीलिपबाटै १४ रनमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ललित नारायण राजवंशीले सन्दीप जोरालाई १८ रनमा एलबिडब्लू आउट गर्दै ४७–५ को कमजोर अवस्थामा पुर्याए । तल्लोक्रममा सुमित महर्जन ४, अमरसिंह राउटेला १८ र अभिनाश बोहरा १२ रनमा आउट भए ।गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फ र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।
यसैगरी, राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
पुलिसलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट दीपेन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरे ।दीपेन्द्रले प्रतियोगिताभर ५ खेलमा ८ विकेट लिनुको साथैं १ सय ७६ रन बनाएका थिए । बागमतीविरुद्ध शून्यमा आउट भएपनि बलिङमा ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा एपिएफविरुद्ध दीपेन्द्रले १ सय ४० रनको शतकीय इनिङ खेल्नुको साथैं १ विकेट लिएका थिए । तर पुलिस १ विकेटले पराजित भएपनि दीपेन्द्र प्लेयर अफ द म्याच चुनिएका थिए । आर्मीविरुद्ध १ र मेयर ११ विरुद्ध २४ रनमा आउट भएका थिए । मेयर ११ विरुद्ध दीपेन्द्रले ३ विकेट लिएका थिए । फाइनलमा दीपेन्द्र एपिएफविरुद्ध ११ रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारी प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिए । आर्मी लिग चरणबाट बाहिरिए पनि विनोद सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा रहे । विनोदले ४ खेलमा १ शतक सहित १ सय ८४ रनका साथ शीर्षस्थानमा रहे । विनोद एपिएफसँग ४२ रनमा आउट हुँदा मेयर–११ सँग २० रनमा अविजित रहे । पुलिसविरुद्ध ३ रनमा आउट हुँदा बागमतीविरुद्ध १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । विनोदले २५ हजार प्राप्त गरे ।प्रतियोगिता उत्कृष्ट बलर बागमती प्रदेशका स्पिनर अरियो पौडेल चुनिए । अरियोले ४ खेलमा १३ विकेट लिएका थिए । बागमती प्रदेश लिग चरणबाट बाहिरिए पनि युवा खेलाडी अरियोले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले पुलिससँग ४, मेयर ११ सँग २, एपिएफसँग २ र आर्मीसँगको खेलमा ५ विकेट लिएका थिए । अरियोले २५ हजार प्राप्त गरे । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनलमा जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्दै च्याम्पियन बनेको थियो । विजेता पुलिसले ५ लाख र उप विजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *