सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता हुन निर्देशन

काठमाण्डौ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको हो । केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको छ । बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए । उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए।यसैबीच, बैठकले चैत १ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक यथावत राख्दै चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ ।
नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलगअलग भएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र दावा लामा सरकारमा सहभागी भएका छन् । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै त्यसमा असहमति जनाउँदै माओवादी केन्द्रका केही मन्त्रीले त्यतिबेलै सरकार छाडेका थिए । बैठकले एमालेको कमिटीमा राखिएका सङ्घीय सांसद तथा प्रदेशसभा सदस्यलाई २४ घन्टाभित्र आफ्नो स्थिति प्रष्ट पार्न पत्र लेख्ने निर्णय गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बैठकले आगामी चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *