काठमाण्डौ, २९ फागुन । नेकपा एमालेको खनाल–नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको अनौपचारिक भेलाले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । शनिबारको भेलाले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रचना खड्काले बताइन् । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता खड्काले जानकारी दिइन । खड्काका अनुसार कार्यकर्ता भेलाका लागि भनेर पार्टीको प्रदेश इन्चार्ज र विभागमा जिम्मेवारीसमेत तोकिएको छ । बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ । त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावलले पाएका छन् । बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र प्रचार प्रसार विभागको जिम्मेवारी योगेश भट्टराईलाई दिएको छ ।
यसैगरी, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै मञ्चबाटै चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन । ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको स्पष्ट पारे। ७ गतेको बैठकमा आएपछि छलफल गरेर अघि बढ्ने भन्दै ओलीले बैठकमा उपस्थित हुन सबै नेलाई निम्तो दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रहसमेत गरेका छन् । उनले माधव नेपाल समूहले ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टा देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताए। उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गरे । ‘माधव नेपाल पेरिसडाँडा (माओवादीको पार्टी कार्यालय) बाट बानेश्वरको अर्याल होटलसम्म आएर बास बस्नुभएको छ रे भन्ने सुनेको छु । उहाँलाई बालुवाटारसम्म आइपुग्न पर्याप्त समय पुगोस् भनेर चैत ७ गते बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको छु, उनले भने,‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’‘आउनुभएन निरन्तर अनुपस्थित हुनुभयो भने विधान बमोजिम हुनेछ,’ उनले भने, ‘आउनुभयो भने त्यसपछि छलफल गरेर अघि बढौंला ।’उनले आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको बताए । ‘मैंले अरूले जस्तो उहाँहरूको पद खोसेको छैन,’ ओलीले भने, ‘उहाँहरू कता–कता हुनुहुन्छ । पार्टी त सञ्चालन गर्दै गर्नुप¥यो नि !’