अभिनेता श्रेष्ठलाई काउन्टर दिन करिश्माले फिल्म निर्माण गर्ने


काठमाडौं, २० माघ । अभिनेता शिव श्रेष्ठलाई काउन्टर दिन अभिनेत्री करिश्मा मानन्धरले फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन । अभिनेत्री मानन्धर लामो समयपछि फिल्म निर्माणमा फर्किन लागेकी हुन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छिन् । आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्मले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।पोस्टरमा उल्लेख भए अनुसार फिल्मले पिता र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज खनाल अनुबन्ध भएका छन् । खनालले फिल्मको कथावस्तु र आफ्नो भूमिका असाध्धै मन परेका कारण काम गर्नका लागि स्वीकृति जनाएका छन । फिल्मको कथा सुशील क्षेत्रीले तयार पारेका हुन् ।फिल्मलाई करिश्मा आफैंले निर्देशन गर्न लागेको चर्चा छ । तर, यसबारेमा उनले कुनै जानकारी दिएकी छैनन् । कविताको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन लगत्तै उनले छोरीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बनाउन लाग्नुलाई धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । शिवले ‘एउटा यस्तो प्रेम कहानी’ बाट कवितालाई डेब्यूको अवसर दिएका हुन् । तर, छायांकन नै पूरा नभइ फिल्म प्रदर्शनमा आयो । फिल्ममा कविताको सिन पनि छोट्याइएपछि करिश्मा शिवसँग रुष्ट थिइन् । अन्ततः फिल्म पनि चलेन । यो फिल्मको असफलताले अहिले उनीहरुको सम्बन्धमा त्तिक्तता आएको छ । यही माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले उनीहरुको मित्रवत सम्बन्धमा फाटो ल्याएको हो । यो फिल्मबाट करिश्माकी छोरी कविता र शिवका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् । छायांकनको क्रममा स्क्रिप्ट हेरफेर गरेर उनीहरुलाई फिल्ममा प्रवेश गराइएको थियो । घोषणाको समयमा गरिएको तामझाम हेर्दा धेरैलाई फिल्म राम्रो बन्ने अपेक्षा थियो । तर, जुन चिजमा बढी अपेक्षा हुन्छ, त्यसबाट निराशा भोग्नुपर्छ भनेझैँ यो फिल्मले पनि आशालाई निराशामा बदल्यो ।
फिल्म प्रदर्शनमा त आयो तर सिनेमा हलसम्म दर्शक आएनन् । पहिलो दिनबाटै दर्शकको खडेरी भोगेको फिल्मले शहरका भित्तामा पोस्टर टाँस्न बनाइएको माडको समेत पैसा उठाउन गाह्रो पर्ने देखिन्छ । प्रदर्शनको पहिलो हप्तामै पत्तासाफ भएको फिल्मले दर्शकलाई सिनेमा हलमा १० मिनेट पनि बाँध्न सकेको छैन । समीक्षकले शिव श्रेष्ठको करिअरकै सबैभन्दा कमजोर फिल्म भनेका छन् ।
निर्माताबीचको मनमुटावले यो फिल्म निर्माणकै क्रममा रोकिएको थियो । यसपछि थन्किएको फिल्म पूरा छायांकनै नभइ प्रदर्शन गरिएको हो । प्रियंका कार्की, वर्षा राउतलगायतका कलाकारहरुको डबिङ नै गरिएको छैन । स्क्रिप्ट अनुसार छायांकन नभएको भन्दै फिल्मका मुख्य कलाकारले प्रचार(प्रसार नै बहिस्कार गरेका थिए । अन्ततः दर्शकले पनि फिल्म बहिष्कार गरे ।
करिश्माकी छोरी र शिवका छोरीले अभिनयमा डेब्यू गरेका कारण दर्शक, मिडियाकर्मी र फिल्मकर्मीलाई ‘एउटा यस्तो प्रेम कहानी’ प्रति ठूलो आश र अपेक्षा थियो । तर, फिल्म औसतभन्दा पनि कमजोर बन्दा कविता र शक्तिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । फिल्म हेर्ने कसैले पनि उनीहरुको अभिनयको प्रशंसा गरेका छैनन् । जसले गर्दा उनीहरुको करिअर संकटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *