अब विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने

जनकपुरधाम, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको बताएका छन । प्रधानमन्त्री ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको सोमबार उद्घाटन गरेका छन । सो अवसरमा प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताए । “अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ”, उनले भने । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गरेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले विसं २०७२ मा परिकल्पना गरिएको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयातनिर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको छ भने । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सबैभन्दा बढी क्षमताको सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि भएको बताए ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्युत्को एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ । हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ ।
यी संरचनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *