सबै पार्टी कमिटी र पार्टी सदस्यलाई सङ्घर्षमा उत्रन निर्देशन, प्रचण्ड–नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने


काठमाडौँ, २० माघ । प्रतिनिधिसभा विघटनविरुद्ध घोषित सङ्घर्षका कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निष्कर्ष निकालेको छ ।
सोमबार बसेको चौथो केन्द्रीय कमिटी बैठकले सबै पार्टी कमिटी र पार्टी सदस्यलाई सङ्घर्षमा उत्रन निर्देशन दिएको छ । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध दुई चरणमा सङ्घर्षको कार्यक्रम गरिरहेको छ । सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै दुई खेमामा विभक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ । राजधानीमा बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयाोगले जुन पत्र पठाएको छ, त्यो विषयमा जवाफसहित पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन अयाोगलाई पत्र लेख्ने निर्णय भएको छ”, उनले भने । आयोगमा सहजीकरणका लागि पार्टीका तर्फबाट खटिएका प्रतिनिधि छिट्टै पत्र लिएर आयोग जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
गत पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो । नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले दुवै पक्षले पठाएकोे विवरण कानूनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।
बैठकले यसअघिको स्थायी कमिटीको प्रस्तावअनुसार प्रधानमन्त्रीे ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय अनुमोदन गरेको छ । गत आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो । बैठकले पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । स्थायी कमिटीले यसअघि नै महासचिवलाई जिम्मेवारीमुक्त बनाउने निर्णय गरेको थियो । सोही निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो । बैठकले म्यान्मामा त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएको घटनालाई अनुपयुक्त भएको निष्कर्ष निकाल्दै नेकपाले सो कदमको निन्दा गरेको छ । बैठकले म्यान्मामा लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिने निर्णयसमेत गरेको छ । बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित रहेको उनले जिकिर गरेका छन ।
यसैगरी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने धारणा व्यक्त गरेका छन । कांग्रेसका भ्रातृ संस्थाले सोमबार आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा बहुमत प्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको तथा संविधानको मस्यौदा बनाउँदा सो विषयमा व्यापक छलफल गरिएको धारणा व्यक्त गरे ।
न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री मनोज वैद्यलगायतले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन । कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध सोमबार ७७ जिल्लामै संयुक्त रुपमा एकसाथ प्रदर्शन गरेका छन् ।
यही माघ १३ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार पार्टीका भ्रातृ संस्था नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजले विरोध प्रदर्शन गरेका हुन् ।
यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन । सुनसरीको इटहरीमा सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे । कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै अन्तिम विकल्प भएको जिकिर गरे । सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *