क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र पुलिस क्लब बिजयी


काठमाडौं, ८ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिजयी भएका छन । बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ ।जितको लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर कुशल भुर्तेल ४४ बलमा ९ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे । १७ औं ओभरको अन्तिम बलमा कुशलले हेमन्त धामीलाई चौका प्रहार गर्दै खेल अन्त्य गर्नुको साथैं आफ्नो अर्धशतक पूरा गरेका थिए । सुनिल धमला ५७ बलमा ६ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए । धमलाले ५१ बलमा अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि सुनिल धमला र कुशल भुर्तेलले १६.१ ओभरमा ९७ रनको साझेदारी गर्दै सहज जित दिलाएका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ओभरमा ३३.१ रनमा १ सय १० रनमा अल आउट भएको थियो । राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा सुदूरपश्चिम सस्तैमा समेटिएको हो । एक समय १६.३ ओभरमा ८०–१ रनको अवस्थामा रहेको सुदूरपश्चिमको नाटकीय विकेटपतनसँगै १ सय १० रनमै अल आउट भएको हो । समग्रमा सुदूरपश्चिमले ३० रन जोड्न ९ विकेट गुमाउन पुग्यो ।पहिलो ओभरको दोस्रो बलमै ओपनर तथा कप्तान सन्तोष भट्ट शून्यमा रन आउट हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि खडक बहादुर बोहरा र सन्जु दमाईले ८० रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर १७ औं ओभरको चौथो बलमा स्पिनर सागर ढकालले खडकलाई ४० रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिमको नाटकीय विकेटपतन सुरु भएको थियो । खडकले ५३ बलमा ८ चौका प्रहार गरे ।
सागरको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्जु लङअनमा सुनिल धमलाबाट ३५ रनमा क्याच आउट हुन पुगेका थिए । सन्जुले ५८ बलमा ५ चौका प्रहार गरे । २७ औं ओभरको तेस्रो बलमा अरुण ऐरी १३ रनमा स्टम्पिङ आउट भए । त्यसपछिका ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
२८ औं ओभरको दोस्रो बलमा नारायण जोशी एक रनमा आउट भएपछि सुदूरपश्चिमको ठूलो सम्भावना सकिएको थियो । किरण ठगुन्ना, नरेन्द्र साउद, हेमन्त धामी र शेर मल्लले खाता खोल्न सकेनन् । अर्जुन साउद ३४ बलमा १ चौका सहित १० रनमा आउट भए । स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए ।
पहिलो खेलमा पुलिस बागमतीसँग ७ विकेटले पराजित भएको थियो । बिहिबार पुलिसले लुम्बिनीसँग टियुमै खेल्ने छ । सुदूरपश्चिम पहिलो खेलमा बागमतीसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । सुदूरपश्चिमले आफ्नो तेस्रो खेलमा माघ १० मा लुम्बिनीसँग मुलपानीमा खेल्ने छ ।
यसैगरी, चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ ।बुधबार आर्मीले प्रदेश एकलाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । यता लगातार तेस्रो खेलमा पराजित भएको प्रदेश एक समूह ‘ए’ र प्रतियोगिता बाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।
आर्मीको सुरुवात भने खराब रह्यो । ओपनर अनिल मण्डल शून्य, लोकेश बम १३, हरि चौहान ८ र कप्तान विनोद भण्डारी ५ रनमा आउट हुँदा आर्मी १२.२ ओभरमा ४१–४ को कमजोर अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि रोहित र भिम सार्कीले ५० रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । प्रदेश एकका फिर्दोस अन्सारी, दीपेश कंडेल, शुवन्कर उराउ र ज्ञानेन्द्र श्रेष्ठले १–१ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४०.१ ओभरमा १ सय ३१ रनमा अल आउट भएको थियो । प्रदेश एकका बिवेक मेहताले ८३ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । कमजोर सुरुवात गरेको प्रदेश एकलाई चौथो विकेटका लागि फिर्दोस अन्सारी र विवेक मेहताले ७७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तर ३१ औं ओभरको तेस्रो बलमा साहब आलमले आफैं क्याच लिँदै बिवेकलाई आउट गरेपछि आर्मी खेलमा फर्किएको थियो । फिर्दोस ३२ रनमा बोल्ड भए । फिर्दोसले ९० बलमा १ चौका र १ छक्का प्रहार गरे । दीपक पासवान १८ बलमा ४ चौका सहित १९ रनमा बोल्ड आउट भए । अन्य ब्याट्सम्यानले भने सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
आर्मीका ८ बलरले प्रदेश एकविरुद्ध बलिङ गरेका थिए । साहब आलमले ९।१ ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ४ विकेट लिए । युवा तीव्र गतिका बलर आकाश चन्दले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामी मगरले एक एक विकेट लिए ।आर्मी ३ खेलमा ३ मा जित सहित समूह ए मा शीर्षस्थानमा छ । एपिएफ एक खेलमा एकमा जित सहित दोस्रो स्थानमा छ । कर्णाली २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । गण्डकी ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । प्रदेश एक तीनै खेलमा पराजित हुँदै पुछारमा छ । समूह ‘बी’ मा बागमती शीर्षस्थानमा छ । लुम्बिनी दोस्रो, पुलिस तेस्रो, प्रदेश २ चौथो र सुदूरपश्चिम पुछारमा छ ।पहिलो खेलमा प्रदेश एक एपिएफसँग १ सय ३५ रन र दोस्रो खेलमा गण्डकीसँग २ विकेटले पराजित भएको थियो । प्रदेश एकले आफ्नो अन्तिम खेल टियु क्रिकेट मैदानमा माघ ९ मा कर्णालीसँग खेल्ने । आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णालीलाई ८० रनले हराएको थियो । आर्मीले समूह चरणको अन्तिम खेल माघ १२ मा टियु मैदानमा नेपाल एपिएफ क्लबसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *