‘पल्पसा क्याफे’ मा स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्ने


काठमाण्डौ, ८ माघ । नारायण वाग्लेद्वारा लिखित कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक अभिनय गर्ने भएकी छन् । फिल्म ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी उनले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको नारायण वाग्लेद्वारा लिखित कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् । विमल सुवेदीले निर्देशन गर्ने यो नाटकमा स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्नेछिन् ।
कोरोनाको महामारी सामान्य भएपछि मञ्चन हुने नाटकको बारेमा मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको ‘पल्पसा क्याफे’ मा स्वस्तिमाका अलावा समापिका गौतम, साजनकुमार सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।
पुस्तकलाई केही परिमार्जित गरेर नाटकमा प्रस्तुत गर्न लागिएको निर्देशक सुवेदीले बताए । ‘पल्पसा क्याफे’ माथि नाटक बनाउनुको कारणबारे उनले भने, ‘केही वर्ष अगाडि हामीले पोखरामा द्वन्द्वकालमा वेपत्ता पारिएका व्यक्तिका परिवारको कथामा ‘खबर हराएका चिठी’ मञ्चन गरेका थियौं । यसपछि मैले अर्को नाटक गर्दा द्वन्द्वकै समयको कथा भन्छु भनेर प्रण गरेको थिएँ ।’ पुस्तकले तत्कालिन शसत्र द्वन्दको चित्रण गरेका कारण यसलाई नाटकमा उतार्न लागेको उनले बताए । त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा काम गर्न लागेका कारण उत्साहित र थ्रिल दुवै रहेको बताइन् । ‘पल्पसा’ पात्रलाई न्याय गर्न आफूले कडा मेहननत गरिरहेको उनी बताउँछिन् । उनले नाटकमा काम गर्ने इच्छा पूरा हुन लागेकोमा पनि खुसी व्यक्त गरिन् ।
भोलीका दिनमा नाटकलाई निरन्तरता दिने विषयमा उनी भन्छिन्, ‘म पहिलो पटक नाटक गर्दैछु । हेरौं यसमा कस्तो हुन्छ । नाटक गर्न मलाई मन लाग्ने भन्ने कुराले अर्थ राख्दैन । म कस्तो गर्छु भन्ने कुराले भोली निरन्तरता दिने वा नदिने भन्ने हुन्छ । अहिलेलाई यो सिच्वेसन फेस गर्छु ।’ नाटक हेरेपछि पुस्तकको पल्पसा पात्रमा पाठकले आफूलाई देख्नेमा उनी आशावादी छिन् ।
यसैगरी, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म सिनेमा हलमा प्रदर्शन भएको लामो समयपछि यूट्युबमा सार्वजनिक हुने गरेका छन् । ‘छक्का पञ्जा’ सिरिज हलमा रिलिजको २ वर्षको अन्तरालमा यूट्युबमा आएका थिए । दीपेन्द्र लामा निर्देशित सुपरहिट फिल्म ‘छ माया छपक्कै’ भने सिनेमा हलमा रिलिज भएको डेढ वर्षमै यूट्युबमा सार्वजनिक भएको छ ।
यो फिल्म पाइरेसीको शिकार हुन थालेपछि बुधवार यूट्युबमा सार्वजनिक गरिएको हो । केदार घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको फिल्मले घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो । रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा दीपक(दीपाको समुहले मुनाफाको ६० प्रतिशत लिने सर्तमा काम गरेका थिए ।
यूट्युब रिलिजको ६ घण्टामा २८ हजार भ्यूज पाएको फिल्मलाई १५ सय लाइक्स र डेढ सय बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्स निहाल्ने हो भने फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मले उठाएको विषयवस्तु अहिलेको राजनीतिक अवस्थासँग मिल्दोजुल्दो रहेको दर्शक प्रतिक्रिया छ । त्यस्तै, केदार घिमिरे र केकी अधिकारीको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको छ ।
हरी हुमागाईंले खिचेको फिल्ममा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा पारेको प्रभावलाई देखाइएकोे छ । राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हास्य रस पस्किएको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, स्व. दीपक क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *