मालपोतका अधिकृतसहित ५ जना पक्राउ

काठमाडौं, ८ माघ । कलंकी मालपोत कार्यालयका अधिकृतसहित ५ जना पक्राउ परेका छन । प्रहरीले उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ । प्रहरीका अनुसार मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो ।कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिए ।उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । उनले भने, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *