कोरोनाविरुद्धको खोप नेपाल आउदै


काठमाडौं, ८ माघ । कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउदैछ । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उक्त खोप बिहीबार नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिएका छन । बुधबार स्वास्थ्य मन्त्री त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिएका छन । सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उनले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको बताए । खोप उपलब्ध हुनुलाई नेपाल–भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उनले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिए । आगामी दिनमा पनि खोपको खरीदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइने बताएका छन । सरकारले कुनै पनि हालतमा निजी क्षेत्रले ल्याएको खोप खरिद नगर्ने मन्त्री त्रिपाठी बताएका छन । पहिलापहिला निजी क्षेत्रले ल्याएर नेपाल सरकारलाई बेच्ने गरेको थियो । तर, यस पटक सरकारले निजी क्षेत्रले ल्याएको खोप किन्दैन । निजी क्षेत्रले निजी अस्पताल लगायत अन्य क्षेत्रमा पनि दिन सक्छ । किनभने हाम्रो समाजमा एउटा यस्तो सम्पन्नता आएको वर्ग छ, जसले लाइनमा बसेर खोप लगाउन तयार हुँदैन । उनीहरु अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन तयार हुन्छन् । त्यसको लागि निजी क्षेत्रलाई पनि अनुमति दिने निर्णय गरेका हौं । तर निजी कम्पनीहरुले सबै सर्त पूरा गरेरमात्रै खोप ल्याउन र वितरण गर्न पाउँछ ।
भारतले बुधबारदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ । बुधबार भुटान र माल्दिभ्समा खोप पठाइएको छ । नेपाल र बंगलादेशमा बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ । भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ । भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो । नेपाल सरकारले अक्सफोर्ड(अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए । भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *