कांग्रेसद्वारा संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील, कांग्रेसले आज देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने


काठमाडौं,८ माघ । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(बिहीबार) देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपील गरेका छन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत बुधबार अपील गरेका हुन् । कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गरेका हुन् ।
यसैगरी, बागमती र प्रदेश १ सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ । प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव पेश गरेको छ । यी दुवै प्रदेशको सत्ता समीकरणमा कांग्रेस निर्णायक छ । ओली पक्ष र प्रचण्ड–माधव पक्षको तानातानमा परिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवाले बुधबार प्रदेश १ का नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका छन् । सहभागी एक नेताका अनुसार छलफलमा मुख्य गरी तीन थरी राय आएका छन । अविश्वास प्रस्तावमा मौन बस्ने,प्रतिपक्षी दल भएकाले अविश्वास प्रस्तावलाई समर्थन गर्ने र प्रदेश अनुसार विशेषता फरक भएकाले त्यसको निर्णय गर्ने अधिकार सम्बन्धित प्रदेशलाई नै दिने । फरक–फरक राय आएकाले प्रदेश १ को विषयमा के गर्ने भन्ने निर्णय बुधबारको बैठकले गर्न सकेन । देउवाले आगामी ९ गते प्रदेश ३ का नेता तथा सांसदहरुसँग छलफल गर्ने योजना बनाएका छन् । त्यो छलफलमा आएको रायको आधारमा आगामी १३ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट ठोस निर्णय गर्ने कांग्रेसको तयारी रहेको एक नेताले बताए ।
यस्तै, नेपाली काँग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ । आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७ सय ५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो । निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ । त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन काँग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेस विरोधमा उत्रिएको काँग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचन कार्यक्रममा सहभागी जनाउने परिपत्रबाट काँग्रेसले संसद पुनर्स्थापना भन्दा निर्वाचनमै जोड दिएको प्रष्टिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *