क्रिकेट विकासका लागि साढे २ दशकदेखि निरन्तर प्रयास


काठमाडौं,२९ पुस । विरू श्रेष्ठ नेपाली क्रिकेट पछ्याउनेका लागि नयाँ नाम होइनन् । निस्वार्थ रुपमा क्रिकेट विकासका लागि झन्डै साढे २ दशक यता निरन्तर लागेका विरूले यसै साता एउटा सपना पूरा गरे । लमहीमा सम्पन्न सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा प्रदेश एकले एपिएफलाई ६ रनले हराउँदै ऐतिहासिक उपाधि जित्यो । जुन प्रदेश एक ले जितेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । प्रदेशका टोलीहरु कमजोर देखिदा प्रदेश १ भने प्रतियोगिताकै अब्बल देखिएको थियो । नेपाली सिनियर टोलीका ६ र यू१९ खेलेका तीन खेलाडी हुँदा प्रतियोगिता अघि नै उपाधिको प्रमुख दाबेदार मानिएको थियो । प्रदेश १ ले घोषणा गरेको १४ खेलाडी मध्य १२ जना झापाको काकड्भित्तास्थित मेचिनगर ६ मा रहेको मिलन क्रिकेट एकेडेमीका खेलाडी थिए । संगम तामाङ र टिका साह भने उक्त एकेडेमीका थिएनन् । फाइनलमा प्लेइङ ११ मा सबै मिलन क्रिकेट एकेडेमीका खेलाडी थिए । प्रदेश १ मा रुविनासँगै, रोमा थापा, काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई र संगिता राई नेपालबाट खेलिसकेका खेलाडी हुन् । निग्मा तामाङ, लखिता राजवंशी र ज्योती दनुवार यू१९ बाट गत वर्ष खेलेका थिए । प्रदेश एक च्याम्पियन बन्नुमा खेलाडी, मिलन क्रिकेट एकेडेमी, प्रशिक्षक तथा अध्यक्ष विरू श्रेष्ठको योगदान र मिहिनेत महत्वपूर्ण छ । मिलन क्रिकेट एकेडेमीले पुरुष र महिला दुवै खेलाडीलाई निशुल्क प्रशिक्षक दिँदै आएको छ । कुनैपनि शुल्क नलिने यस एकेडेमीको मुख्य उदेश्य नेपाली क्रिकेटलाई खलाडी तयार पार्नु हो । अहिले पनि मिलन क्रिकेट एकेडेमीमा झन्डै ६० जना महिला खेलाडी दैनिक अभ्यास गर्ने गर्दछन् । प्रशिक्षक श्रेष्ठ राम्रो तयारी भएकाले नै प्रम कप जित्न सकेको बताउँछन् । ‘यो प्रतियोगिता हुन्छ भन्ने हामीलाई पहिलानै थाहा थियो । च्याम्पियन बन्नका लागि हामीले पछिल्लो ७–८ महिना देखि एउटा योजनाका साथ मिहिनेत गरिरहेका थियौं । त्यो मिहिनेतको फल हामीले पायौं’, उपाधि जितेपछि श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘लकडाउनले गर्दा पिएम कप सरेको हुँदा हामीले समय पनि पायौं । त्यो समयमा हामीले आफ्नो प्रर्दशन राम्रोगर्न तर्फ लाग्यौं । मिलन क्रिकेट एकेडेमीकै १२ खेलाडी टोलीमा हुँदा हामीलाई काम गर्न सहज पनि भयो र च्याम्पियन बन्यौं ।’ भारतमा क्रिकेटको कखरा सिकेका विरू नेपालमा विशेषगरी प्रदेश १ मा क्रिकेटको आधार खडा गर्ने लक्ष्यसहित यतै रहे । ‘मेरो घर काकड्भित्ता भएपनि म मामाघर गुहाटीमा बसेर पढेको थिए । मैले सानैदेखि नेशनल क्रिकेट एकेडेमी सिकेको थिए । क्रिकेटको माहोल थियो र रुचि पनि । आउने जाने गरिरहन्थें,’ उनले भने, ‘२०५८ सालपछि भने यता बसे । मैले भारतबाटै बढी क्रिकेट खेले । नेपालको माहोल देखेर मलाई मन पर्दैन थियो ।’मिलन क्रिकेट एकेडेमी सुरुमा क्लबको रुपमा वि.सं २०५२ सालमा स्थापना भएको थियो ।
यसैगरी, कर्णाली प्रदेशले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि युवा ब्याट्सम्यान रविन्द्रजंग शाहीको कप्तानीमा आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । कर्णाली समूह ‘ए’ मा छ । कर्णालीसँगै त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब, गण्डकी, प्रदेश नम्बर १ छन् । कर्णालीले माघ ४ मा त्रिभुवन आर्मीसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । मुलपानीमै माघ ६ मा गण्डकीसँग खेल्ने छ । माघ ९ मा प्रदेश १ र माघ १० मा एपिएफसँग टीयूमा खेल्ने छ ।प्रतियोगिता माघ २ देखि १७ सम्म टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा चल्ने छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप विजेतासँग माघ १४ खेल्ने छ ।माघ १५ मा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उप विजेतासँग खेल्ने छ । फाइनल माघ १७ मा टीयूमा हुने छ । मुलपानीमा समूह चरणका कुल ९ खेल हुने छन् । टीयूमा सेमिफाइनल, फाइनल र समूह चरण गरि कुल १४ खेल हुने छन् । कर्णालीको टोलीमा रविन्द्र जंग शाही (कप्तान), निष्क्षल रावल, दिवान बाबु पुन, ललित प्याकुरेल, हेमन्त ओली, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहल, युनिश विक्रम सिंह र अभिषेक बम ठकुरी रहेका छन । टिम ब्यवस्थापकमा भुवन कोइरला र प्रशिक्षकमा पौल फरेरा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *