नेपाली अभिनेत्री निरिषा बस्नेत हिन्दी सिरियलमा


काठमाडौं, २९ पुस । नेपाली अभिनेत्री निरिषा बस्नेत हिन्दी सिरियल सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल ‘अलादिन ः नाम तो सुना होगा’ मा उनी अनुबन्ध भएकी छन् । अहिले यो सिरियलको छायांकन भइरहेको छ । यसमा आफू नेगेटिभ रोलमा रहेको निरिषाले बताएकी छन् । उनी भन्छिन्, ‘म ‘अलादिन’ को हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु । यसमा मैले नकारात्मक चरित्र निभाएकी छु र अलादिनको जीवनमा धेरै अवरोधहरू सृजना गर्नेछु ।’ यो सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ । अभिनेत्री निरिषाले ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी छिन । उनले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्मको असफलताले उनलाई निराश बनायो । तीन महिना त उनले रोएरै विताइन् । अहिले उनी मुम्बईमा छिन् र व्यस्त छिन् ।धेरैका लागि मुम्बई सपनाको शहर हो । यहाँ लाखौंलाख आँखा सपनाकै खोजीमा पुग्छन् । धेरै नेपाली कलाकारहरु पनि बलिउडमा जम्ने सपनाको भारी बोकेर मुम्बई पुगेका छन् । तर, एकाधले मात्र त्यहाँ आफूलाई स्थापित गर्न सफल भए । प्रायः त संघर्षबाट थाकेर मुम्बईमा वर्ष दिन पनि टिक्न सकेनन् । कति अझै बलिउड प्रवेशको सपना बोकेर मुम्बईमा संघर्षरत छन् । अभिनेत्री बस्नेतले पनि मुम्बईलाई कर्मथलो बनाउन थालेको लामो समय भइसकेको छ । लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी थिइन् । चिनियाँ युवतीको भूमिकामा उनको अभिनयको भारतीयसँगै नेपाली दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेको थिए ।
निरिषाले राम्रो ब्यानर र स्क्रिप्टबाट प्रस्ताव आए नेपाली फिल्ममा पनि काम गर्ने बताएकी छन् । ‘जानी नजानी’ बाट आफूले धेरै कुरा सिक्न पाएको बताउने उनी पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । टिभी सिरियलमा आफूलाई स्थापित गराएकी उनलाई बलिउड फिल्ममा पनि काम गर्ने इच्छा छ । तर, यसका लागि आफूले अझै मेहनत गर्न आवश्यक रहेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *