संसद् पुनःस्थापना भए पनि निर्वाचन हुने भए पनि कांग्रेस तयार

काठमाडौँ, २९ पुस । संसद् पुनःस्थापना भए पनि अथवा निर्वाचन हुने भए पनि नेपाली कांग्रेस पछि नहट्ने पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन । । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न पाउनुपर्छ भन्दै अदालतलाई सडकबाट धम्क्याउने काम पार्टीको नीतिभित्र नपर्ने स्पष्ट पारे । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि बहुमतको सरकार भए पनि संसद् विघटन गरेको बताए ।
पूर्वसूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका बस्नेतले आफ्ना मातापिता कोमल माया–खड्ग बस्नेतको स्मृतिमा आयोजना गर्नुभएको फुटबल प्रतियोगितामा मंगलबार भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी सुनकोशी गाउँपालिका विजय भएको छ । सभापति देउवाले प्रथम हुने टिमलाई नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टिमलाई रु ५५ हजार ५५५ र ट्रफी तथा पदक प्रदान गरे । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई क्रमशः रु २० हजार र पाँच हजारसमेत प्रदान गरे । पुस २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले भाग लिएका थिए ।
यसैगरी, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा मंगलबार कांग्रेस वडा कमिटी भवनको शिलान्यास कार्यक्रममा उनले भने, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’
जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उनले प्रष्ट पारे । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा निर्वाचनमा भाग लिनुपर्ने भन्दै कार्यकर्तालाई तयारी रहन समेत उनले आग्रह गरे । पार्टीको महाधिवेशनभन्दा पनि अहिलेको परिस्थितिमा जनताको मत र अधिकारको रक्षा गर्नु महत्वपूर्ण कुरा भएकाले मध्यावधि चुनावका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।
नेता रिजालले संसद् विघटनको विषयमा भावना र अनुमानको भरमा व्याख्या गर्दै नबोल्न कार्यकर्तालाई आग्रह गरे । न्याय दिने अन्तिम ठाउँ नै सर्वोच्च रहेकाले सर्वोच्चले गरेको निर्णयलाई सबैले स्वाकार्नुपर्नेमा उनले जोड थियो । कार्यक्रममा कांग्रेसका नेताहरू चन्द्रबहादुर कुँवर, शङ्करकान्त जोशी, कृष्णप्रसाद कोइराला, तुल्सीनारायण श्रेष्ठ, सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाह, लमजुङ क्षेत्र नं २ का सभापति वृर्खराज गुरुङलगायतले प्रधानमन्त्रीले संसद् विघटन गरेर जनताको मतको सम्मान नगरेको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *