युवा खेलाडी तयार पार्न योजनावद्ध रुपमा अघि बढ्न सुझाव

दाङ, २० पुस । युवा खेलाडी तयार पार्न प्रदेश र जिल्लाले योजनावद्ध रुपमा अघि बढ्नु पर्ने प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबाले सुझाव दिएकी छिन । महिला क्रिकेटको सदाबहार दाबेदार विभागिय टोली एपिएफलाई हराउँदै प्रदेश १ आइतबार सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको थियो । पहिलो पटक उपाधि जितेको प्रदेश १ ले एपिएफलाई फाइनलमा ६ रनले हराएको थियो । कप्तान रुविना क्षेत्री बेलबासेसँगै प्रदेश १ मा ६ जना राष्ट्रिय खेलाडी छन् । अपराजित रहँदै उपाधि जितेको प्रदेश १ ले राम्रो तयारी गर्न सके महिला क्रिकेटमा अघि बढ्न सकिन्छ भन्ने सन्देश अन्य प्रदेशलाई पनि दिएको छ । रुविनाले खुसी हुँदै भनिन् । ओपनिङ रणनीति अनुसार नै प्रदर्शन भएको जनाउँदै रुविनाले भनिन्, ‘रणनीति अनुसारनै अप्सरीले खेलिन् । बीचमा आशा गरिएका ब्याटर आउट हुँदा केहि दबाबमा परेका थियौं । ‘सुरुमा प्रदेश १ ले फिल्डिङ कमजोर गरेको थियो । रुविना फिल्डिङ कमजोर नभएर फाइनलको दबाब भएको बताउँछिन् । ‘यसैलाई निरन्तरता दिन अर्को वर्ष चुनौती पनि रहने छ’, उनले भनिन् ।
प्रदेश १ लाई उपाधि जिताउन युवा खेलाडी स्पिनर एलिसा खडिया र मध्यगतिका बलर निग्मा तामाङले प्रतियोगिता भर राम्रो प्रर्दशन गरे। रुविनाले थपिन् ‘यी दुई युवा खेलाडीको प्रर्दशनबाट म एकदमै खुसी छु । उनीहरुले सधैं हामीहरुसँगै अभ्यास गरि रहेको हुँदा अझ फाइदा पनि भयो । समग्रमा नेपाली क्रिकेटमा नयाँ युवा प्रतिभा देख्दा म खुसी छु।’
आउने दिनमा टोलीले ब्याटिङमै अझै सुधार गर्नुपर्नेमा उनको जोड थियो । ‘खेलको अनुभव कम भएर रन हान्न नसकेका हौं । सकरात्क कुरा युवा प्रतिभा देख्न पाइयो । यो समयमा महिला क्रिकेट कति विकास भएको रहेछ । कति युवा खेलाडी रहेछन् भन्ने पनि देख्न पाइयो, उनले भनिन् ।
यसैगरी, सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ मा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) प्रदेश नम्बर एक की स्पिनर संगिता राई चुनिएकी छिन् । प्रदेश १ लाई अपराजित रहँदै उपाधि दिलाउन स्पिनर संगिताले उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । प्रतियोगिता उत्कृष्ट ब्याटर एपिएफकी ज्योती पान्डे र बलर करुणा भण्डारी चुनिएकी छिन् । आइतबार भएको फाइनलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश एकले पहिलो पटक उपाधि जितेको थियो ।विजेता प्रदेश १ ले पाँच लाख प्राप्त गरेको छ । उप–विजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । सेमिफाइनलबाट बाहिरिएका सुदूरपश्चिम र लुम्बिनीले २५–२५ हजार प्राप्त गरे । संगिताले कुल ५ खेलमा ५ खेलमा १७.१ ओभर बलिङ गर्दै २ मेडन सहित ६२ रन खर्चेर कुल ११ विकेट लिइन् । उत्कृष्ट प्रर्दशन गण्डकी प्रदेशविरुद्ध ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ५ विकेट लिएकी थिइन् ।बागमतीविरुद्ध पहिलो खेलमा विकेट विहीन बनेपनि त्यसपछि उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । सुदूरपश्चिमविरुद्ध उनले ३ र लुम्बिनीविरुद्ध २ विकेट लिएकी थिइन् । उनी पाँच खेल मध्य तीन खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएकी थिइन् । संगिता समूह चरणमा गण्डकी र सुदूरपश्चिम तथा सेमिफाइनलमा बागमतीविरुद्ध ‘प्लेयर अफ द म्याच’ चुनिएकी थिइन् ।
उत्कृष्ट ब्याटर एपिएफकी ओपनर तथा विकेटकिपर ज्योती पान्डे चुनिएकी छिन् । उनले १० हजार प्राप्त गरिन् । ज्योतीले ५ खेलमा १ सय ५१ रन बनाइन् । उत्कृष्ट प्रर्दशन ४९ रहँदा स्ट्राइकरेट ८५ को रह्यो । उनको कुल रनमा ११ चौका सामेल छ । ज्योतीले कर्णालीविरुद्ध ३२, प्रदेश २ विरुद्ध ३०, लुम्बिनीविरुद्ध ४९, सुदूरपश्चिमविरुद्ध २६ र प्रदेश १ विरुद्ध १४ रन जोडेकी थिइन् ।स्पिनर करुणा भण्डारीले ५ खेलमा १९.१ ओभरमा २ मेडन सहित ५८ रन खर्चेर १३ विकेट लिएकी थिइन् । उनले ५ हजार प्राप्त गरिन् । उनको उत्कृष्ट प्रर्दशन कर्णालीविरुद्ध पहिलो खेलमा ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएकी छन् । प्रदेश २ विरुद्ध १ र लुम्बिनीविरुद्ध ३ विकेट लिएकी थिइन् । सेमिफाइनलमा सुदूरपश्चिमविरुद्ध ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।
‘प्लेयर अफ द म्याच फाइनल’ कप्तान रुविना क्षेत्री बेलबासे चुनिन् । फाइनलमा उनले १८ रन बनाउनुको साथैं महत्वपूर्ण विकेट लिएकी थिइन् । पुष ११ देखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ मा कर्णाली, लुम्बिनी, प्रदेश २ र एपिएफ थिए ।
समूह ‘बी’ मा प्रदेश १, बागमती, सूदूरपश्चिम र गण्डकी थिए । समूह ‘ए’ बाट लुम्बिनी उप विजेता र एपिएफ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’ बाट प्रदेश १ समूह विजेता र सुदूरपश्चिम समूह उप विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम तथा प्रदेश एक ले लुम्बिनीलाई हराउँदै फाइनलमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *