नेपालमा कोरोनाबाट दुई लाख ४४ हजार मुक्त भए


काठमाडौँ, ७ पुस । नेपालमा कोरोना निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा ४४८ पुरुष र २९४ महिला गरी कूल ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । हालसम्म नेपालमा सात हजार ९७६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको छ ।
यसैगरी, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २५ हजार ३९५ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमा ७५० को पिसिआर परीक्षण गरिएकोमा ४१ महिला र ५३ पुरुष गरी कूल ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये मोरङका ५२ मध्ये विराटनगरका २७, सुनसरीका १९, झापाका आठ, सङ्खुवासभाका तीन, इलामका दुई तथा भोजपुर, उदयपुर, पाँचथर एंव ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका छ जना रहेका छन् ।
हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २९ हजार ४२६ पुगेको छ । अहिलेसम्म दुई लाख पाँच हजार छ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ५२ जना निको भएका छन् । सोमबार थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ३४ जना छन् । त्यस्तै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) मा १७, तनहुँमा १२, लमजुङमा छ, स्याङ्जामा पाँच, पर्वतमा तीन, वाग्लुङ र म्याग्दीमा एक÷एक जना थपिएका छन् ।प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार १९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म १२ हजार ९६ जना निको भएका छन् भने एक हजार ७३६ जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमण भई हालसम्म १८७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *