नेकपा, कांग्रेस र जसपाको केन्द्रीय समिति बैठक बस्दै, आजबाट नेकपा औपचारिक विभाजनतर्फ जादै

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति बैठक (आज) मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ । सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन् । ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछन् । कांग्रेसले दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ । जनता समाजवादीले बुधबार देशैभर प्रदर्शन गर्न लागेको छ।थप कार्यक्रमबारे आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट घोषणा गरिने जसपाले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको समूहबाहेक नेकपाभित्रैबाट पनि विरोध भइरहेको छ । विरोध बढ्दै गएकोले यी दल विभाजनको संघारमा पुगेको बताइन्छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको छ । उसले सोमबार नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत दुई दलसँग संयुक्त बैठकसमेत गरेको थियो । यी दलका नेताहरूले आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज मंगलबारबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्कोलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो ।मंगलबार बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् । सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्मको समिकरण हेर्दा प्रचण्ड–नेपाल समूह बहुमतमा देखिन्छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ । चुनावी गठबन्धन गर्दै २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर नेकपा गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *