दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी सम्मानित


काठमाडौं,७ पुस । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो ।राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए । उनीहरुले समान ५०–५० हजार रुपैया प्राप्त गरे ।
त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ छन् । दुवै आ–आफ्नो खेलमा सागका प्रशिक्षक थिए । जुडोका धर्मकुमार श्रेष्ठ निर्णायकको तर्फाट सम्मानित भएका छन् ।
यस्तै संघबाट नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित भए । खेलकुदको विकास र प्रवद्र्धनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीको मनोवल उच्च राख्न सहयोग गरेकोमा काठमाडौं महानगरपालिका र कतार एयरवेज प्रायोजकका रुपमा सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।
२१ दिने सुचनामा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको मन्त्रालयले जनाएको छ । ९ सदस्य समितिले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधिको अधिनमा रहि प्राप्त आवेदनको मूल्याकंन गर्दै उच्चतम अंक प्राप्त गर्नेलाई सम्मानका लागि सिफारिस गरेको थियो ।
यसैगरी, युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताएका हुन् ।
राखेपका उपाध्यक्ष तथा संघ विवाद समाधन समितिका संयोजक शिव कोईरालाले ब्यक्ति एउटा दायित्व धेरै भएको संघमा पाईएको र अब त्यो प्रथाको अन्त्य हुने बताएका छन् । उनले संघ धेरै भएर राज्यले धान्न नसकेको नभई कतिपय संघले गर्ने क्रियाकलाबबाट खेलकुद बदनाम हुदै आएको र अब त्यो परिपाटी नचल्ने बताएका छन् ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै राखेपले पुस महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २÷२ दिने कार्यक्रको आयोजना गर्ने जानकारी गराए ।कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराएका थिए । कार्यक्रममा ८० संघका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस्तै, दाङको लमहीमा पुस ११ देखि सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको छ ।प्रतियोगिता पुस ११ देखि १९ सम्म लमहीमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुने छ । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । उद्धघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने छ । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् ।प्रतियोगिता २० ओभरको हुने छ । सबै खेल लमही मैदानमा हुने छन् । हरेक दिन दुई खेल हुने छन् । पहिलो खेल विहान नौं र दोस्रो खेल १ बजेबाट सुरुहुने छ । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । दुबै सेमिफाइनल पुस १७ र फाइनल पुस १९ मा हुने छ ।पिएमकप महिला क्रिकेटको लागि गण्डकी र लुम्बिनीले आफ्नो टोली घोषणा गरि सकेका छन् । प्रदेश नम्बर १ र २ को छनोट सकिएको छ । अन्य टोली छनोटको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *