शिल्पा पोखरेलका लागि यस वर्षको जन्मदिन विशेष बन्न सकेन

काठमाडौं, ७ पुस । अदालतमा मुद्धा विचाराधिन रहेका कारण शिल्पा पोखरेलका लागि यस वर्षको जन्मदिन विशेष बन्न सकेको छैन । अदालतमा मुद्धा चलिरहेका कारण यसपालीको जन्मदिनमा मन खुसी नभएको उनी बताईन । शिल्पाले पुष ७ गते मंगलवार आफ्नो जन्मदिन मनाएकिछिन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । तर, यसपालीको जन्मदिनमा उनमा कुनै उत्साह र उमंग छैन । साथीहरुले जन्मदिन सेलिब्रेट गर्ने योजना बनाउँदा पनि उनले मानेकी छैनन् । अघिल्ला वर्षको जन्मदिनमा उनी आफ्नो व्यक्तिगत जीवनलाई सुन्दर रुपमा अगाडि बढाउने प्रण गर्ने गर्थिन् । तर, यसपाली उनले कुनै प्रण गरेकी छैनन् । उनी भन्छिन्, ‘पहिला मेरो पर्सनल लाइफ राम्रो होस् भनेर कामना गर्थेँ । त्यो त खराब नै भयो । अब भगवानले नै बुझेर दिनुहुन्छ ।’
उनले गत वर्ष श्रीमान तथा फिल्म निर्माता छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै अदालतमा सम्बन्ध विक्षेदको लागि निवेदन दिएकी थिइन् । यसपछि छविराजकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिएपछि जिल्ला अदालत काठमाडौंले दुवैलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले दुवैलाई तत्काल पक्राउ नगर्न आदेश जारी ग¥यो ।
उनी आफ्नो व्यक्तिगत कारणले व्यवसायिक पाटोमा कुनै असर परोस् भन्ने चाहन्नन् । कामलाई निरन्तरता दिने सोचमा रहेकी उनले गएको हप्ता भोजपुरी फिल्म ‘प्रेमगीत २’ को छायांकन सकाएकी छन् । त्यस्तै, उनको नेपाली फिल्म ‘आर्या’ प्रदर्शनको पखाईमा छ ।
नयाँ जीवन सुरु गर्ने विषयमा अहिलेसम्म केही नसोचेको पनि उनले बताइन् । ‘मलाई मेरो जन्मदिन विशेष बनाउनु पर्छ भनेर त सोच आएको छैन भने आफ्नो जीवनमा नयाँ लाइफ पार्टनरलाई प्रवेश गराउने कुनै सोच नै छैन,’ उनले भनिन् । तीन सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनले ‘हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । फिल्म ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा उनले डेब्यू गरेकी थिन ।
यसैगरी, केही दिनयता जताततै एउटा गीत सर्वाधिक घन्किरहेको छ । गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा रहेको ‘मैसाब’ बोलको गीत अहिले वृद्धदेखि बच्चासम्मको जिब्रोमा झुण्डिएको छ । दरवारिया शैलीमा निर्माण गरिएको भिडियोमा पल शाह र छुकिला शेर्पाले अभिनय गरेका छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेका कारण दर्शकले गीत निकै रुचाएका छन् ।
यही गीतबाट मोडलिङ डेब्यू गरेकी छुकिलाको सुन्दरता, एक्सप्रेसन र नृत्यको पनि मुक्तकण्ठले प्रशंसा भइरहेको छ । पहिलो गीतले नै चर्चा बटुल्न सफल हुँदा उनलाई अन्य म्यूजिक भिडियोबाट अफर आउन थालेको छ । अब उनले फिल्ममा पनि काम गर्न लागेको जानकारी प्राप्त भएको छ । फिल्म ‘हुतुतु’ मा उनी मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएको गोप्य स्रोतले बताएको छ ।
‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले निर्माण गर्ने यो फिल्ममा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतको अभिनय रहनेछ । पहिला फिल्मका लागि मुख्य अभिनेत्रीमा निर्माण टिमले साम्राज्ञी आरएल शाहलाई प्रस्ताव गरेको थियो । तर, उनले फिल्मलाई समय दिन नसक्ने बुझेर निर्माण टिम अन्य अभिनेत्रीको खोजीमा थियो ।
‘मैसाब’ गीत सार्वजनिक भएसँगै छुकिलालाई निर्माता तथा कलाकार सेनले ‘हुतुतु’ मा मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको बुझिएको छ । तर, यस बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । ‘हुतुतु’ लाई निर्माता सेनले नै निर्देशन गर्दैछन् । सिक्किम निवासी छुकिला अभिनेत्री बन्ने सपना बोकेर काठमाडौं आएकी हुन् । उनले होटल म्यानेजमेन्टको पढाई गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *