गौतम बुद्ध क्रिकेट रंगशालामा मंसिर २७ देखि ३० सम्म प्रतियोगिता हुने

 


काठमाडौं,२५ मंसिर । गौतम बुद्ध क्रिकेट रंगशालामा मंसिर २७ देखि ३० सम्म गौतम बुद्ध प्रतियोगिता कप हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने गौतम बुद्ध कपको खेल तालिका र तीन टोलीमा रहने खेलाडीको नाम बुधबार सार्वजनिक भएको छ । प्रतियोगिताका खेलहरु मंसिर २७ देखि ३० सम्म भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा आयोजना हुने छ । सबै खेल ५० ओभरको हुने छ । प्रतियोगितामा बागमती, नारायणी र राप्ती गरि तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् ।बाग्मतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् । नारायणीको राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने छन् । राप्तीको कप्तानी विकेटकिपर विनोद भण्डारीले गर्ने छन् । राप्तीको टोलीमा घरेलु प्रतियोगिता सफल कप्तान शरद भेषवाकर भएपनि उनलाई कप्तानको जिम्मेवारी दिइएको छैन । बागमती क्रिकेट संघका सचिव दुर्गाराज पाठकका अनुसार विनोदलाई कप्तानी दिनुको कारण उनी पहिला देखिनै राष्ट्रिय टोलीमा बन्द प्रशिक्षणमा रहेको जनाएका छन् । शरद बन्द प्रशिक्षणमा दुई तीन दिन अगाडि मात्रै सामेल भएको र टोली पहिला नै बनिसकेको दुर्गाले जानकारी दिएका छन् ।राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान कुशल मल्ल भने प्रशिक्षणको क्रममा घाइते हुँदा कुनैपनि टोलीमा छैनन् । दीपेन्द्रको तिघ्राको पछिल्लो भागमा समस्या हुँदा कुशलको पाखुरामा चोट लागेको छ ।
पहिलो खेलमा मंसिर २७ मा बागमती र नारायणीबीच प्रतिस्पर्धा हुने छ । मंसिर २८ मा बागमती र राप्ती भिड्ने छन् । मंसिर २९ मा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुई टोली उपाधिको लागि मंसिर ३० मा भिड्ने छन् । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।
बागमती टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल कुमार शाह, सोमपाल कामी, राशिद खान, ललित नारायाण राजवंशी, सागर ढकाल, रोहित कुमार पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम शोब, प्रदीप ऐरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल रहेका छन ।
नारायणी टोलीमा पारस खड्का (कप्तान), सुवाश खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव रहेका छन ।
राप्ती टोलीमा विनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अभिनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी रहेका छन ।
यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०–२१ का सुरुवाती ६ खेल गुमाउने पक्का भएको छ । बिग ब्यास बिहिबार देखि अष्ट्रेलियामा सुरु हुँदै छ । सन्दीपले यस सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दै छन् । तर सन्दीप हालसम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा छन् । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेटका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप अष्ट्रेलिया डिसेम्बर १४ वा १५ मा जाने बताएका छन् । बिहिबार सन्दीप कहिले जाने भन्ने पक्का हुने जनाएका छन् ।अष्ट्रेलिया सरकारको नियम अनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । जसले गर्दा सन्दीप जनवरीमा खेलको लागि उपलब्ध हुने शिवाकोटीले जनाए । बिहिबार हरिकेन्सले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बर १३ र १५ मा एडिलेड स्ट्राइकर्ससँग खेल्ने छ । डिसेम्बर १९ मा मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । डिसेम्बर २७ र ३० मा ब्रिसबेन हीटसँग खेल्नेछ ।समग्रमा हरिकेन्सले डिसेम्बरमा कुल ६ खेल खेल्ने छ । जुन सबै खेल सन्दीपले गुमाउने छन् । कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना छ । कोरोना रिपोर्ट नेगेटिभ आएमा मात्र उनी खेल्न पाउने छन् ।गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गरेपनि स्टार्सले सन्दीपसँग सम्झौता गरेन । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *