फिल्म ‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन पहिलो पटक जोडी बाँधिदै


काठमाण्डौ, २५ मंसिर । फिल्म ‘कहानी तिम्रो मेरो’ मा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधान पहिलो पटक जोडी बाँधिदै छन । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको फिल्ममा भने पहिलो पटक जोडी बाँधिन लागेको हो । निर्देशक विशाल भण्डारी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा फिल्म ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका हुन् । फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ ।
थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । यसमा अहिलेका चल्तीका कलाकारलाई नै लिने सोचमा निर्माण टिम छ । हाल फिल्मको स्क्रिप्ट र गीत–संगीतमा काम भइरहेको बुझिएको छ ।
निर्देशक भण्डारीले २ वर्ष अगाडि केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए । दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा हुबहु उतारिएका कारण फिल्म विवादमा तानिएको थियो । नयाँ फिल्ममा भने उनी पुरानो गल्ती दोहो¥याउने पक्षमा छैनन् । आफूमाथि लागेको चोरीको दाग मेटाउन उनले स्क्रिप्टमा मेहनत गरिरहेका छन् । निराजनको कुरा गर्ने हो भने उनले यसअघि फिल्म ‘लफडा र जालो’ मा अभिनय गरेका थिए । तर, यी फिल्मले उनको करिअरलाई उचाई दिलाउन सकेनन् । गएको वर्ष उनले निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको थियो । तीन वर्ष अगाडि उनी फिल्म ‘प्रेमालय’ मा पनि अनुबन्ध भएका थिए । पछि उनले यो फिल्मबाट हात झिकेका थिए ।
यसैगरी, म्यूजिक भिडियो हुँदै नेपाली फिल्ममा फड्को मारेमा अभिनेता पुष्प खड्कालाई फिल्म ‘मंगलम’ ले हाईलाइटमा ल्याएको थियो । यसमा उनले प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यही कारण उनले राष्ट्रिय चलचित्र पुरस्कार समेत हात पारे । यो फिल्मपछि गिनेचुनेका ब्यानरको नजरमा परेका उनी पछिल्लो पटक फिल्म ‘मारुनी’ मा देखिएका थिए ।
लकडाउनअघि फिल्म ‘चालबाल’ को छायांकन सकाएका पुष्प तिहारपछि फिल्म ‘कृष्ण लीला’ को छायांकन गरिरहेका छन् । अहिले फिल्मको इलाममा छायांकन भइरहेको छ । यसपछि उनी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग फिल्म ‘रेड वाइन’ मा काम गर्दैछन् । उनको पाइपलाइनमा मुकुन्द भट्टको फिल्म पनि छ । यी तिनै फिल्म उनले तीन महिनाको अवधिमा साइन गरेका हुन् ।
लगातार तीन फिल्म साइन गरेपछि उनी फिल्म गर्न हतारिएको टिप्पणी भइरहेको छ । तर, पुष्प तीनवटै फिल्ममा आफ्नो भूमिका फरक रहेका कारण साइन गरेको बताउँछन् । ‘फिल्म थोरै गरुँ तर राम्रो गरुँ भन्ने सोचाइबाट म सधैं निर्देशित छु । तर, यसपटक के भइदियो भने प्रोजेक्टहरु फरक फरक आइदिए । जनरा र मेरो भूमिकाको हिसाबले तीनै फिल्म फरक छन्,’ उनले भने ।
उनी अगाडि भन्छन्, ‘कृष्ण लीला’ मा कृष्णको चरित्र म आफैं टिमसँग बसेर सरसल्लाहमा तयार पारेकाले यो छुट्टै छ । मलाई एक्सन फिल्म गर्न पहिल्यैदेखि मन थियो । स्क्रिप्ट पनि राम्रो लागेपछि मुकुन्द दाईको फिल्म सम्झौता गरेँ । ‘रेड वाइन’ चाहिँ परिस्थिति नै त्यस्तै बन्यो । यद्यपि, स्क्रिप्ट चित्त बुझेरै साइन गरेको हुँ ।’ आफूले संयमित भएरै फिल्म साइन गरेको उनले बताए ।
तीन फिल्म लगातार साइन गरे पनि प्रदर्शन एकसाथ नहुने उनको दाबी छ । तिनै फिल्म केही महिनाको अन्तरमा प्रदर्शन हुने उनले बताए । ‘मुकुन्द दाईको फिल्म ६ महिनापछि सुरु हुन्छ । यसका लागि तयारी पनि गर्नुपर्ने छ । ‘रेड वाइन’ भने ‘कृष्ण लीला’ पछि गर्दैछु । तिनै फिल्मको रिलिजमा ग्याप हुन्छ,’ उनले भने । ‘कृष्ण लीला’ मा पुष्प गाउँले युवकको भूमिकामा देखिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *