काठमाडौं, २० मंसिर । गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण शून्य रहेको क्रिकेट गतिविधिलाई ब्युँताउने लक्ष्यसहित बागमती प्रदेश क्रिकेट संघको आयोजनामा गौतम बुद्ध कप आयोजना हुने भएको हो । भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको हो । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।मंसिर २७ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय टोलीको क्याम्पमा रहेका सबै खेलाडीले खेल्नेछन् । हाल क्याम्पमा रहेका खेलाडी तथा घरेलु क्रिकेटमा नाम चलेका खेलाडीसहित तीन टोली निर्माण गरिनेछ । तीन टोलीले राउन्ड रोबिन लिगपछि ३० गते फाइनल खेल्नेछन् । प्रतियोगिता टि–२० हुने वा ५० ओभरको हुने भन्नेबारे पिचको अवस्था हेरेपछि मात्र यकिन गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।विश्वभर कोरोना संक्रमणको कठिन परिस्थितिमा पनि क्रिकेट बिस्तारै सुरु भएको अवस्थामा क्रिकेट ब्युँताउन प्रदेश क्रिकेट संघले यो कदम चलेको हो । प्रतियोगितामा सबै सुरक्षा मापदण्ड पालना गरिने आयोजकले जनाएको छ ।
यसैगरी, नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति पक्रिया अन्तिम चरणमा पु¥याएको छ । भदौमा खुल्ला आव्हानमा गर्दा कुल ७२ जनाले नेपालको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । क्यानले अन्तरवार्तामा १५ जना नाम छनोट गरेको थियो । १५ मध्य १२ जना अन्तरवार्तामा सहभागी भएका थिए । तीन जना व्यक्तिगत कारण उपस्थित हुन सकेनन् । क्यानले यसै महिना भित्र सम्भव त मुख्य प्रशिक्षकको नाम सार्वजनिक गर्ने छ । नेपाली क्रिकेट टोली झण्डै एक वर्ष देखि अन्तर्राष्ट्रिय प्रशिक्षक विहिन छ । गत माघमा आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजसँगै भारतीय प्रशिक्षक उमेश पटवालले पारिश्रमिक कर बढी लगाएको भन्दै राजीनामा दिएका थिए । त्यसयता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक जगत टमटाले नेपाली क्रिकेटलाई सम्हाल्दै आएका छन् ।यसपटक क्यानले खुल्लाह आवाह्न गर्दा नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न टेष्ट टोलीका खेलाडी धेरै रुचि देखाएका थिए । विश्वकप विजेता प्रशिक्षक देखि नेपाली क्रिकेटका पूर्व सफल प्रशिक्षक पुबुदु दसानायके सम्म दौडमा छन् । क्यानले सेवा सुविधामा कुनै कन्जुसाई नगरे स्तरिय प्रशिक्षक आउने देखिन्छ ।
स्रोतका अनुसार नेपालको प्रशिक्षक बन्न मासिक तलब (पारिश्रमिक) १० देखि २० हजार डलर माग गरेका छन् । पछिल्लो समय क्यान एकपछि अर्को विवादमा फस्दै आएको छ । क्यानले केहि राम्रो काम गर्न सक्दैन भन्ने आलोचकलाई उच्च स्तरतीय प्रशिक्षक ल्याउँदै राम्रो जवाफ दिन लागेको क्यान निकट उच्च स्रोत बताउँछन् ।
दक्षिण अफ्रिका लान्स क्लुजनरको सम्भावना र चर्चा भने हल्लामात्रै रहेको छ । लान्स नेपाल आउन इच्छुक भने थिए । उनले एजेन्ड मार्फत आफू प्रशिक्षक हुने पक्का भएमा आवदेन दिने सर्त राखेका थिए । तर क्यानले लान्स भन्दा पनि राम्रो स्तरको आउन सक्ने भन्दै उनको प्रस्ताव सिधैं अस्विकार गरेको स्रोतले जनाएको छ । पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन खस्किदो छ ।
सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता दिन मुख्य चुनौती देखिन्छ । टि२० विश्वकप हुँदै टेष्ट क्षमताको स्तरमा पुर्याउन सक्ने क्षमताको प्रशिक्षक नेपाली क्रिकेटलाई आवश्यक देखिन्छ । स्रोतका अनुसार १२ जना मध्ये पाँच क्यानको पहिलो रोजाईमा छन् । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन सक्ने सर्वाधिक पाँच बलिया दाबेदार यस प्रकार छन् । पुबुदु दसानायके (श्रीलंका),निल म्याकरे (स्कटल्यान्ड),टटेन्डा ताइबु (जिम्बावे),अपुर्व देशाईं (भारत) र डेभ वाटमोर (अष्ट्रेलिया) रहेका छन ।