अभिनेत्री वर्षा फिल्म ‘परदेशी २’ को छायांकनमा ब्यस्त

काठमाडौं, २० मंसिर । अभिनेत्री वर्षा सिवाकोटी फिल्म ‘परदेशी २’ को छायांकनमा ब्यस्त भएकी छिन । एक महिना लामो अमेरिका बसाईपछि नेपाल फर्किएकी अभिनेत्री सिवाकोटीले फिल्म ‘परदेशी २’ को छायांकन सुरु गरेकी हुन् । बिहीवारबाट उनले फिल्मको सुटिङ सेट ज्वाइन गरेकी हुन् । मंसिर ११ गतेदेखि फिल्मको पाल्पाबाट छायांकन सुरु भएको थियो । पाल्पाको छायांकन सकेर निर्माण टिम बुधवार चितवन फर्किएको छ । पाल्पामा भएको छायांकनमा वर्षाको सिन थिएन । बिहीवारबाट पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा फिल्मको छायांकन भएको थियो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन थालिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए । बिहीवार र शुक्रवार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो । दुई दिनको छायांकन सकेर उनी राजधानी फर्किएका छन् । शनिवारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको दृश्य खिचिएको छ । फिल्मको पाल्पास्थित माथागढीको झडेवा, कसेनी, सराईलगायतका स्थानमा छायांकन हुने निर्देशक रायमाझीले बताए । फिल्मको केही प्रतिशत छायांकन भने विदेशी भूमिमा गर्ने तयारीमा निर्माण टिम छ । लकडाउनभन्दा अगाडि फिल्मको ७० प्रतिशत छायांकन सकिएको थियो । फिल्मले उठान गरेको विषयवस्तुले दर्शकको मन छुने विश्वास निर्देशक रायमाझीको छ ।
आठ महिनापछि फिल्मको सेटमा फर्किन पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । निषेधाज्ञा खुकुलो भएपछि विभिन्न म्यूजिक भिडियोमा काम गरेकी उनी लकडाउनभन्दा अगाडि ‘परदेशी २’ कै छायांकन गरिरहेकी थिइन् । अब यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नारायण रायमाझीले बताएका छन् । चितवनपछि फिल्मको केही सिन जनकपुरमा खिचिनेछ ।
फिल्ममा वर्षाका अलावा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारहरुको अभिनय रहेको छ । रमेश विजीले तयार पारेको कथामा निर्माण भइरहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । कोरोना महामारीका कारण यो फिल्मको छायांकन ८ महिना रोकिएको थियो ।
‘परदेशी २’ मा विभिन्न कारणले विदेशिन बाध्य नेपालीहरुको कथालाई समेटिएको रायमाझीले बताए । फिल्मको केही प्रतिशत छायांकन अमेरिकामा गर्नुपर्ने भए पनि कोरोना भाइरसका कारण विदेशमा छायांकन सम्भव नभएपछि नेपालमै सेट लगाएर खिच्ने तयारी भइरहेको जानकारी प्राप्त छ । रमेश विजीले लेखेको कथामा तयार भइरहेको फिल्मको निर्मातामा निर्देशक रायमाझी र राजेश वंशल छन् । फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । यो फिल्मबाट लोकगायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । यसकारण पनि फिल्मलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । यो फिल्म २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *