सरकारले फिल्म क्षेत्र खोल्न चासो नदेखाएको फिल्मकर्मीको गुनासो

काठमाण्डौ, १५ मंसिर । सरकारले फिल्म क्षेत्र खोल्न चासो नदेखाएको फिल्मकर्मीले गुनासो गरेका छन । कोरोनाका कारण बन्द रहेका प्रायः सबै क्षेत्र खुलिसकेका छन् । तर, सरकारले लकडाउन गर्नुभन्दा अगावैदेखि बन्द भएको फिल्म क्षेत्र अझै ठप्प छ । दशैंदेखि फिल्म छायांकन सुरु भए पनि आठ महिनादेखि बन्द रहेका सिनेमा हलहरु खुल्न सकेका छैनन् । फिल्म सम्बद्ध विभिन्न संघ–संस्थाहरुले सिनेमा हल, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन आग्रह गर्दा समेत सरकार मौन छ ।
फिल्म क्षेत्र सञ्चालनका लागि फिल्मकर्मीहरुले नै पर्याप्त दबाब दिएका छैनन् । फिल्मकर्मी भलाद्मी भएकै कारण सरकारले फिल्म क्षेत्र खोल्न चासो नदेखाएको हल सञ्चालक तथा फिल्म निर्माता प्रदीप कुमार उदयले बताएका छन् । वर्तमान सरकारले नेपाली फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको आरोप उनको छ । सरकारले दबाब र आन्दोलनको भाषा मात्र बुझ्ने उनी बताउँछन् ।उनले फेसबुकमा लेखेका छन्, ‘अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए, सरकारले तत्काल खोल्ने निर्णय ग¥यो । तर हाम्रो क्षेत्र भलाद्मी । एउटा विज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए सायद यो सरकारले सुन्थ्यो होला । तर हामी भलादमी ।’ सञ्चार मन्त्रालयले फिल्म क्षेत्र खोल्न सिफारिस गरे पनि सरकार मौन रहेको उनले उल्लेख गरेका छन् ।
उनले थपेका छन्, ‘सरकार भन्दिनु प¥यो चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । चलचित्रसँग सम्बन्धित सबै इजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्रसँग सम्बन्धित कोही पनि हाम्रो नागरिक होइन र यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौं ।’ उनले आफ्नो अस्तित्वका लागि लड्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।
चलचित्र विकास बोर्ड गम्भीरतापूर्वक फिल्म क्षेत्र खोल्न लागे पनि सरकारले महत्त्व नदिन सक्ने भन्दै उनले यसका लागि फिल्म क्षेत्रसँग सम्बन्धित संघ(संस्था अग्रसर हुनुपर्ने बताएका छन् । दबाब र आन्दोलन बिना सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगर्ने उनको भनाई छ । फिल्म क्षेत्र खोल्न पहल नगर्ने हो भने फिल्म क्षेत्रसँग सम्बन्धित संघ(संस्था बन्द गर्न उनको आग्रह छ ।
यसैगरी, कोरोना भाइरसका कारण विगत आठ महिनादेखि सिनेमा हलमा ताल्चा लागेको छ । सरकारले लकडाउनभन्दा अगावैदेखि फिल्म क्षेत्रका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । निषेधाज्ञा खुकुलो भएपछि भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आए पनि फिल्म क्षेत्रमाथिको प्रतिबन्ध अझै फुकुवा भएको छैन । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको भविष्य संकटमा परेको छ ।
लकडाउनमा बन्द भएका सबै क्षेत्र सञ्चालनमा आइसकेका कारण अब फिल्म क्षेत्रमाथिको प्रतिबन्ध पनि फुकुवा गर्नुपर्ने आवाज फिल्मकर्मीहरुबाट उठ्न थालेको छ । तर, अभिनेता राजेश हमालले भीडभाड हुने क्षेत्र भएकाले जबरजस्ती फिल्म सम्बन्धि गतिविधि खुल्ला गर्दा संक्रमण फैलिन सक्ने भएकाले स्थिति सामान्य भएपछि केही खुकुलो गर्दै लैजानु पर्ने मत राखेका छन् । ‘सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खोल्नु चाहिँ पर्छ । तर, जबरजस्ती गरेर पनि हुँदैन । अहिले हामीलाई स्थिति सहज लागे पनि परिस्थिति त नाजुक नै छ । त्यसकारण हामीले संयमता अपनाउनु पर्छ,’ हमाल भन्छन्, ‘जबरजस्ती सिनेमा हल खोलियो र भोली संक्रमण फैलियो भने त्यो प्रतिउत्पादक हुन्छ । सहज भएको खण्डमा खोल्नु चाहिँ पर्छ । तर, हामी अत्यन्त सचेत हुनुपर्छ ।’ लकडाउनको समयमा आधा दर्जन म्यूजिक भिडियोमा काम गरेका अभिनेता हमाल म्यूजिक भिडियो आफ्नो विधा नभएको बताउँछन् । ‘म म्यूजिक भिडियो नियमित गर्दिनँ । यो मेरो विधा पनि होइन । मुख्यतः म चलचित्र कलाकार नै हुँ । मेरो बढ्ता ध्यान त्यतै जान्छ । कुनै प्रोजेक्ट सुरु भयो भने म त्यतै लाग्छु । कहिले काहिँ म्यूजिक भिडियो गर्न रमाइलो चाहिँ लाग्छ,’ उनले भने । अभिनेता हमालले आफ्ना प्रशंसकलाई भेट्न शैली फरक रहेको पनि बताएका छन् । कुनै ठाउँमा हात हल्लाएर फ्यानसँग साक्षात्कार गर्नुभन्दा भेटेरै अन्तरक्रिया गर्न मनपर्ने उनको भनाई छ । फ्यानसँँग आफ्नो फ्यान र कलाकारको नाता भन्दा पनि पारिवारिक किसिमको सम्बन्ध रहेको उनले बताए । उनी स्थिति सामान्य भएपछि आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *