१४ वर्ष मुनिका बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन नमिल्ने

काठमाडौँ, १६ मंसिर । १४ वर्ष मुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बताएका छन । भरतपुर अस्पतालको सोमबार आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताएका हुन । उनले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन ।

“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ”, उनले भने, “खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रूपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ भने ।
“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको छ”, उनले भने, “कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे ।
प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायत बोलेका थिए ।
कार्यक्रममा ५० श्ययाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० श्ययाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिएको छ । सरुवा रोग भवन निर्माण गर्न रु आठ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ ।
आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु ११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु नौ करोड बजेट विनियोजन गरिसकेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ९३१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५०८ पुगेको छ ।
यस्तै, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पिसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७६ मध्ये विराटनगरमा ४९, सुनसरीका ४८, झापाका ४५, ताप्लेजुङका २१, उदयपुरका नौ, इलाम र धनकुटाका पाँच÷पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरका एक÷एक र प्रदेश बाहिरका १३ जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २६२ पुगेको छ । प्रदेशमा आज १०२ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९१ हजार ४२६ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *