टीयू क्रिकेट मैदानमा प्रशिक्षण सुरु, ४ खेलाडीमा कोरोना संक्रमण


काठमाडौं,१३ मंसिर । क्यानले अन्तर्राष्ट्रिय मैदान टीयू क्रिकेट मैदानमा ९ खेलाडीसँगै अभ्यास सुरु गरेको छ । बिहिबार नेपालको एकमात्र अन्तर्राष्ट्रिय मैदान टीयू क्रिकेट मैदानमा ९ खेलाडीसँगै अभ्यास सुरु भएको हो । क्यानले सुरुमा २२ र पछि थप पाँच गरि कुल २७ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । मंगलबार १६ खेलाडीको पिसिआर परिक्षण हुँदा कप्तान ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई कोरोना संक्रमण देखिदा आइसोलेसनमा बसेका छन् । उक्त तीन खेलाडीको सम्पर्कमा आएका अन्य ६ खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ । आगामी तीन चार दिनभित्रमा ती खेलाडीको पुनः पिसिआर परिक्षण हुने कार्यवाहक व्यवस्थापक तथा फिजियो विक्रम न्यौपानेले जनाएका छन् । कोरोना संक्रमित खेलाडीको नजिक आएका सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा राखिएको छ ।
विक्रम शोब, रित गौतम र करण केसी पनि काठमाडौं आइसकेका छन् । अनिलकुमार शाह पहिलो दिन अभ्यासमा जोडिसकेका छन् । तीन खेलाडी पिसिआर रिपोर्ट आएपछि प्रशिक्षणमा सामेल हुने छन् । क्यानले साहायक कोचका रुपमा मनोज कटवाललाई बोलाएको छ । पहिलो दिन झन्डै चार घण्टा टोलीले अभ्यास गरेको थियो । फिटनेसदेखि ब्याटिङ अभ्यासमा बिताएको थियो ।
पहिलो दिन प्रशिक्षक जगत टमटा, फिजियो बिक्रम र फिटनेश ट्रेनर आयश हत्कर टीयू मैदानमा रहेका थिए । पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सुशन भारी, ललित नारायण राजवंशी, पवन सरार्फ, भुवन कार्की, आरिफ शेख र अनिलकुमार शाह अभ्यासमा पहिलो दिन सहभागी हुने खेलाडी हुन् ।
मंगलबार पिसिआर परिक्षणमा शरद भेषावकरसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् । वसन्त कोरोना संक्रमण, कुशल कक्षा १२ को परिक्षा हुँदा अन्यले व्यक्तिगत कारण देखाएका छन् ।
क्यानले युवा ब्याट्सम्यान रित गौतम, लोकेश बम, अनिल कुमार शाह, कुशल भुर्तेल र विक्रम शोबलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । लोकेश १३ गतेपछि टोलीमा उपलब्ध हुने छन् । अन्य ती खेलाडी पिसिआर परिक्षणको नतिजा आएपछि सामेल हुनेछन् । नेपालले पछिल्लो पटक फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनको लागि बन्द प्रशिक्षण गरेको थियो । त्यसपछि कोरोना महामारीको कारण नेपाली क्रिकेट ठप्प थियो । नेपालले आगमी कुन सिरिज खेल्छ अझै निश्चित भने भई सकेको छैन ।
२५ दिनको प्रशिक्षणपछि एक हप्ता बिदा हुनेछ । उक्त समयमा प्रधानमन्त्री एकदिवसिय कप हुने सम्भावना छ । बन्द प्रशिक्षणको समयमा ए, बी र सी टोली बनाएर अभ्यास खेल खेलाउने तयारी गरिरहेको छ । जसमा भारतमा रहेका नेपाली मुलका खेलाडी आउन सक्ने सम्भावना छ । मार्चमा ओमानमा आइसिसी एक दिवसिय विश्वकप त्रिकोणात्मक सिरिज नभएको खण्डमा नेपालले विदेशमा बलियो टोलीसँग अभ्यास गर्ने क्यानले जनाएको छ ।
यसैगरी, नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतम सहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।

यसअघि गत शुक्रबार प्रशिक्षणमा बोलाईएका २२ खेलाडी मध्य १६ जनाको पिसिआर परिक्षण गर्दा तीन जानमा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय लिएको छ । क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ । यी खेलाडी यस अघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन् । चार जनामा कोरोना संक्रमण देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *